• मंसिर ११ २०८१, मंगलवार

ट्राफिक सचेतना फैलाउने अभियानमा दाङका ट्राफिक प्रहरी

जेष्ठ ७ २०८०, आईतवार

दाङ, ७ जेठ ।
मोडिदै गरेको टिप्परमा स्कुटर ठोक्किएपछि सोमवार दिउँसो घोराहीको तुलसीपुर चोकमा चिच्याहट सुनियो । स्कुटर अलि परसम्म लतारियो । डिउटीमा बसेका प्रहरी लोकबहादुर थारुले भन्नुभयो ‘धन्न बाँच्यो’ उहाँले थप्नुभयो, ‘लतारेर लैजाँदा त अब बर्बादै भयो भन्ने सोचेको थिएँ ।’ उहाँका अनुसार बाटो हिंड्ने काफल तथा केरा बेच्न बसेका सबका सब डरले चिच्याएका थिए ।

यसैगरी शुक्रवार दिउँसो नेत्रलाल चोकदेखि पूर्वतर्फ विपरीत दिशाबाट आएका मोटरसाइकल र स्कुटर आपसमा ठोक्किए । स्थानीयका अनुसार दुवै सवारी गलत दिशामा गुडेका थिए । एउटा एफएम रोड तर्फबाट सिधै काठेकोल तर्फ र अर्को काठेकोल तर्फबाट सिधै एफएम रोडतर्फ लागेको थियो । ग्रिनबेल्टमा पुग्ने बित्तिकै आपसमा ठोक्किए । ट्राफिक पुग्यो र मानिसहरुको भिड लाग्यो । स्थानीय जनता एजुकेशनल हाउसका सञ्चालक राभक्त गुप्ताका अनुसार गलत दिशातिरबाट सवारी गुड्ने र साना ठूला दुर्घटना हुने गर्छन् ।

धेरैले चोकको ख्यालै गर्दैनन् । मुखबाट सिठी सिर्रर सिरर्र र हातको इसारा तुलसीपुर चोकमा ट्राफिक प्रहरी माया खत्रीको लगातार चलिरहेको देखिन्छ । त्यस संगै पूर्वतर्फबाट दक्षिण र पूर्व जाने उत्तरी सडकमा वरपरको दौडधुप पनि उस्तै हुन्छ । त्यसैक्रममा सवारी चालकको ढोकामा पुगेर निर्देशन दिनेपनि गर्नुहुन्छ । कतिपय बेला ट्राफिकसँग चर्काचर्की गरेको पनि तुलसीपुर चोक आसपास सुन्न सकिन्छ । कतिपय बेला ट्राफिकले हातमा रसिद बोकेर ठाउँका ठाउँ जरिवाना गर्छन् ।

‘चेक धेरै भयो, जहाँ अफ्ठेरो छ त्यही चेक हुन्छ’ लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासघका कोषाध्यक्ष नारायणप्रसाद भुषालले गत २३ गतेको सार्वजनिक कार्यक्रममा ट्राफिक नेतृत्वलाई सोध्नुभएको थियो, ‘एक ठाउँ जाँच गरे हुन्न, दुनियाँमा कहिँ नभएको नियम किन ल्याएको ?’ उहाँले एउटै यात्रामा कैयाैं ठाउँ ट्राफिक जाँच गर्दा चालकलाई झन्जट भएको बताउनुभयो ।

त्यसको जवाफमा जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले भन्नुभयो, ‘ट्राफिकले नियतबस दुःख दियो भने मलाई सूचना दिनुस्’ उहाँले थप्नुभयो ‘एउटै ट्राफिकले पटक पटक रोक्यो भनेपनि त्यसमा शंका गर्नुस् ।’ उहाँका अनुसार सबै चालक सचेत छैनन् । धेरै लामो अनुभव भएका चालक समेत ट्राफिक छलेपनि दुर्घटना छलिन्छ भन्ने गलत सोचाईमा हुन्छन् । ट्राफिक छल्न सकिन्छ दुर्घटना छल्न सकिंदैन । फुर्सदमा आफ्नो सवारी जाँच गर्दैनन्, सडकको अवस्था ख्याल राख्दैनन्, धेरै गतिमा साधन गुडाएर भागेकाहरु अर्को ठाउँमा फेला पर्छन् ।

विहानको घुमफिरमा नागरिक पोशाकमा निस्कने र घोराही बजारका गल्लीगल्ली पुगेर वस्तुस्थिति बुझ्ने ट्राफिक प्रमुख मल्लको दैनिकी जस्तै छ । एकजना सहयोगीका साथ बर्दीबिना नै बाहीर निस्कने गर्दै आएका प्रमुख मल्लले भेटिएका व्यक्तिबाट सल्लाह सुझाव लिनुहुन्छ । कमजोरी भेटाए कार्वाही चलाउने गर्नुभएको छ । केहि दिनअघि ड्राइभिङ सेन्टरको सिकारु सवारी सडकमा भेटाउनुभयो । त्यसदिन तुरुन्तै घोराहीका ड्राइभिङ सेन्टरका सञ्चालकलाई बोलाएर छलफल गर्नुभयो । ‘ड्राइभिङ सेन्टरका सवारी सिकारु संकेत लगाएर फिल्ड भित्र मात्रै चलाउने हो’ उहाँले भन्नुभयो ‘मानवीय बस्तिमा सिक्नका लागि चलाउन पाइँदैन ।’ यसरी एक्सन लिनुहुन्छ ।

गत बैशाखमा मात्रै एक सय ३२ वटा ट्राफिक सचेतना प्रशिक्षण कक्षा चलाएको प्रमुख मल्लको भनाई छ । उहाँका अनुसार सरुवा भई आएपछि मात्रै तिनसय वटा ट्राफिक सचेतना कार्यक्रममार्फत् तिनहजार बढिलाई ट्राफिक नियम सिकाइएको छ । अझै पनि ट्राफिक सचेतना कमि भएका चालकको संख्या देखिएको छ । स्कुल बसले सिट क्षमता भन्दा बढि विद्यार्थी हालेर अटेरी गरेका छन् ।

सिट क्षमता भन्दा बढि विद्यार्थी चढाएकोलाई बिचैमा ओराल्न मिलेको छैन । अभिभावकले दबाब दिने गरे हुन्थ्यो भन्ने लागेको छ । सबै भन्दा बढि दुर्घटना हुनुका कारण मापसे, लापसे, तिब्र गति, ट्राफिकको नियमको कमि र सडक संकेतहरुको वास्ता नगर्ने रहेका छन् ।