• असार २ २०८२, सोमबार

जेलेन्स्की बाइडेनसित बैठक बस्दाबस्दै युक्रेनको बाख्मुत शहर रूसकाे कब्जामा

जेष्ठ ७ २०८०, आईतवार

मस्को । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जी-७ बैठकमा भाग लिन शनिबार नै जापान पुगे । आइतबार जी-७ बैठक समापन हुने दिन जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित धेरै देशका राष्ट्र प्रमुखसँग भेटवार्ता गरे ।

आज अमेरिकाले अत्याधुनिक एफ-१६ लडाकु विमान र ३७६ मिलियन अमेरिकी डलरको हतियार थप सहयोग गर्ने युक्रेनसँग वाचा गरेको छ । तर युक्रेनका राष्ट्रपति जापानमै हुँदा र हतियारहरु सहयोग प्राप्त गर्ने वाचाहरु पाइरहँदा नै युक्रेनको बाख्मुत शहर भने रुसको कब्जामा गएको रुसी दाबी छ ।

बाख्मुत शहरमा रुसका लडाकू समूह वाग्नरले रुसी झण्डा फहराइदिएका छन् । वाग्नरका प्रमुख येभेजनी प्रिगोजिनले युक्रेनको बाख्मुत क्षेत्र कब्जा गरेको भन्दै भिडियो पोस्ट गरेका छन् । भिडियोमा रूसी झण्डा र वाग्नर समूहको ब्यानर बोकेका लडाकुहरू देख्न सकिन्छ । हाल जापानमा रहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सुरुवातमा जी-७ का नेताहरुसँग बाख्मुत शहर रुसको कब्जामा गएको बताएका थिए । तर उनले पत्रकारहरुसँग भने सो क्षेत्रमा आफ्ना सेनाहरुले अझै लडिरहेको बताउँछन् ।

एक वर्षभन्दा बढी समययता रुस-युक्रेनबीच युद्ध जारी रहँदा बाख्मुत रुस-युक्रेन युद्धको सबैभन्दा लामो र रक्तपातपूणर् युद्धको केन्द्रबिन्दु बनेको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सुरुवातदेखि अन्तिम सास रहेसम्म युद्ध जारी रहने अभिव्यक्ति दिँदै आएका छन् ।

युक्रेनले आगामी केही हप्तामै रुसविरुद्ध निर्णायक जवाफी हमला गर्ने बताउँदै आएको छ । जसकाकारण राष्ट्रपति जेलेन्स्की लगातार विदेश भ्रमणमा गइरहेका छन् । उनले गतहप्ता मात्र फ्रान्स, जर्मनी र बेलायतको भ्रमण गर्दै त्यहाँबाट हतियार प्राप्त गरेका थिए ।

हिजो शनिबार मात्र उनी जी-७ बैठकमा पुगे । त्यहाँ पनि उनले हतियारहरु मागे, अमेरिकाले जी-७ बैठकमै थप हतियारहरु दिने वाचा गरेको हो ।