• असार २ २०८२, सोमबार

रायमाझी सहित ४ जनालाई नक्कली शरणार्थी काण्डको योजनाकार बनाई प्रतिवेदन पेश गरिँदै

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौं । काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

आइतबार काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी र केशव दुलाललाई मुख्य योजनाकार बनाएर प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रहरीले पक्राउ परेका बाँकी १२ जनालाई भने यो प्रकरणमा मतियार बनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३२ मध्ये प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ । बाँकी १६ जनालाई भने फरार प्रतिवादी बनाएर प्रतिवेदन आजै बुझाउने प्रहरीको तयारी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१२ चैतदेखि पक्राउ परेकालाई प्रहरीले संगठित अपराधको मुद्दा चलाएर अनुसन्धान गरेको थियो । कानुन अनुसार संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरेको प्रतिवेदन सरकारी वकिलको कार्यालयले ६० दिनभित्र अदालत पेस गरिसक्नुपर्ने हुन्छ । त्यसैले प्रहरीले आजै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको हो ।