काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल गएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका-१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङ्कोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।
साराङ्कोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए । साराङ्कोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए ।
विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई-माल्टाहुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ । परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै अधिकारीले सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग आग्रहसमेत गरे ।