• मंसिर १० २०८१, सोमबार

हरि बुढामगरको उच्च साहसको सगरमाथा आरोहण

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौं । पूर्वगोरखा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगमाथा सफल आरोहण गरेका छन् । उनले यहीँ जेठ ५ गते शुक्रबार दिउँसो ३ बजे सफल आरोहण गरेका हुन् ।

हरिले समाजिक सञ्जाल फेसबुकमार्फत आफूले सगरमाथाको सफल आरोहण गरेको जानकारी गराएका थिए । उनले फेसबुकमा “आई ह्याव डन इट” लेख्दै सगरमाथाको शिखर चुमेको तस्बिरसमेत सार्वजनिक गरेका हुन् ।हरिले आफ्नो फेसबुकमा सफल आरोहणको तस्बिर सार्वजनिक गरेलगत्तै देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकले सफलताको शुभकामना व्यक्त गरेका छन् ।


अफगानिस्तानमा विद्युतीय धरापमा परि उनले दुवै खुट्टा गुमाएका थिए । खुट्टा गुमाएको १३ वर्षपछि हरिले ८,८४९ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । हरिले शारीरिक विकलाङ्गले सगरमाथा चुम्न अड्चन नहुने प्रमाणितसमेत गरेका छन् ।विकलाङ्ग हरि गोडाबिहीन छन् । उनले कीर्तिम (प्रोस्थेटिक) खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् । उक्त खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो नागरिक हुन् ।


सगरमाथा आरोहणका लागि सोलुखुम्बु जानुपूर्व हरिले पाँच वर्ष पर्खेका थिए । लामो समयको पर्खाइ पश्चात् सगरमाथा आरोहण गर्ने अनुमति पाउँदा आफूलाई निकै खुसी लागेको बताएका थिए ।उनले शारीरिक विकलाङ्ग भएका व्यक्तिहरू कमजोर नहुने सन्देशसमेत दिएका छन् । आत्मविश्वास भए आफूजस्तै विकलाङ्गले पनि सगरमाथाको सफल आरोहण गर्न सक्ने बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा विद्युतीय धरापमा परि उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने हरि बुढामगर पहिलो नागरिक हुन् ।हरि बुढा २०३६ साल साउन १४ गते रोल्पाको मिरूलमा जन्मिएका हुन् । उनी नेपाल मगर विद्यार्र्थी संघ रोल्पाका सदस्य पनि थिए । उनी ब्रिटिस आर्मीमा विसं। २०५५ सालमा भर्ती भएका थिए ।तर, सन् २०१० सालको विद्युतीय धरापमा परी उनले अफ्गानिस्तानको युद्धमा घुडामुनिको दुवै खुट्टा गुमाए । आफ्नो अशक्ततालाई हतियार बनाइ उनले विश्वका थुप्रै हिमाल आरोह गरिसकेका छन् ।

 

उनले युनाइटेड किङडमको अग्लो हिमाल केन नेभिस्, अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमान्जारो, फ्रान्सको सबैभन्दा अग्लो हिमाल मन्ट बेन्स र नेपालको अन्नपूर्ण हिमाल आरोहण गरि कीर्तिमान कायम गरेका छन् ।