• मंसिर १४ २०८१, शुक्रबार

कुनै पनि व्यापारीक घरानाका लागि करको दर हेरफेर गरिने छैन : अर्थमन्त्री महत

जेष्ठ ६ २०८०, शनिबार

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुने गरी करको दर हेरफेर नहुने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेर लगायतका नीतिगत भ्रष्टाचार नहुने र हुन नदिने स्पष्ट पारे ।

समग्र अर्थतन्त्रलाई मध्यनजर राखेर आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए । मुलकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने लगायतका कुरालाई बजेटमार्फत् प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

अहिले आर्थिक वर्षको नौ महिनापछि बजेट उपलव्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृतिलाई आफूले रोकेको जानकारी दिँदै उनले बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने बताए । बजेटमार्फत् पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

अर्थमन्त्री महतले अहिलो राजस्व कम उठेको क्षेत्रलाई सुधार गर्ने प्रयास भइरहेको भए पनि आर्थिक वर्षमै गति लिएर ३५-४० प्रतिशत बढी राजस्व उठाउन सक्ने अवस्थामा रहेको जिकिर गरे ।

त्यस्तै, उनले वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन भन्ने विषयमा समीक्षा हुन जरुरी रहेकाले समीक्षामार्फत् खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता रहेको बताए ।
बैठकमा समिति सदस्यहरुले बजेट कार्यान्वयनको चुनौतीलाई ध्यान दिन सुझाव दिएका थिए ।