काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ । शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो ।
त्यसैगरी, प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।
‘सार्वजनिक सेवा प्रसारकको स्थापना गरी यसको २ आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर एकीकृत प्रसारण सेवाको आरम्भ गरिनेछ,’ पौडेलले भने, ‘प्रेस काउन्सिललाई सबै सञ्चारमाध्यामबाट प्रकाशन तथा प्रसारण हुने विषयवस्तुको नियमन गर्ने गरी नयाँ कानुनी व्यवस्थासहित मिडिया काउन्सिलमा रुपान्तरण गरिनेछ । आमसञ्चारसम्बन्धी छाता कानुन निर्माण गरिनेछ । समानुपातिक विज्ञापन प्रणाली लागू गरिनेछ ।’
अनलाइन सेवालाई सबै वडाहरूमा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन तथा मर्यादित पत्रकारिताका लागि नीतिगत, कानुनी र संरचनागत सुधारमा ध्यान दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाई ज्येष्ठ पत्रकार सम्मान तथा द्वन्द्वपीडित पत्रकारहरूलाई राहत तथा पत्रकार कोष तथा दुर्घटना बीमाका साथै महिला पत्रकार र विभिन्न भाषाभाषीका पत्रकारलाई प्रोत्साहित गरिनेछ ।’ सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रूपमा अघि बढाउने पनि सरकारको नीति छ । राष्ट्रपति पौडेलले भने, ‘सूचना तथा प्रविधिको प्रयोगमा आमनागरिकको पहुँच वृद्धि गरिनेछ ।
शिक्षा, स्वास्थ्य, विकास, निर्माण र सेवा प्रवाहलगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरिनेछ । ज्ञानमा आधारित अर्थतन्त्रको विकास र सुशासनका लागि सूचना प्रविधि प्रणालीको अनुसन्धान, विकास र विस्तार गरिनेछ ।’