• असार ३ २०८२, मंगलवार

जी-७ ले रुसमाथी थप प्रतिबन्ध लगाउने भएपछि रुसी प्रधानमन्त्री चीन भ्रमण जाँदै

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । जापानमा आजदेखि जी-७ बैठक सुरु भएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका आबद्ध जी-७ को बैठक मे २१ अर्थात् आइतबारसम्म चल्नेछ ।

बैठकमा जी-७ का राष्ट्रहरूले रुसमाथि थप कडा प्रतिबन्धात्मक नियमहरू लागू गर्ने सहमति जनाएका छन् । यसअघि नै पश्चिमा राष्ट्रहरूले विदेशमा रहेका रुसी सम्पत्ति रोक्का गरिदिएका छन् र उनीहरूले रुसी मुद्रासँग डलरको कारोबार गर्न बन्द गरिदिएका थिए ।

जी-७ बैठकलाई आज शुक्रबार नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियोमा सम्बोधन गर्ने कार्यतालिका पनि छ । आइतबार भने उनी बैठकमा भाग लिन जापान नै पुग्ने बताइएको छ ।

जी-७ राष्ट्रहरूले थप प्रतिबन्धात्मक नियम लागू गर्ने सहमति गरेसँगै रुसका प्रधानमन्त्री मिखाइल मिसस्टिनले चीनको भ्रमण गर्ने भएका छन् । आगामी हप्ताको मंगलबार र बुधबार मे २३ र २४ मा उनी चीन जाने बीबीसीले जनाएको छ ।

चीनले रुस-युक्रेनबीच जारी युद्ध अन्त्य गराउन पहल कदमी चालिरहेको छ । उसले युक्रेनमा रुसी आक्रमणको भने विरोध गरेको छैन । एक वर्षयता युद्ध जारी रहँदा चीन र रुसबीचको सम्बन्ध आर्थिक र राजनीतिक रूपमा थप प्रगाढ बन्दै गएको छ ।