घोराही, ५ जेठ ।
लामो कपाल भएका, कुर्ता सुरुवाल पहिरिएका र सर्ट पाइन्ट लगाएका छोटो कपाल बनाएकाहरु आपसमा हेलमेल गरेका थिए । उनीहरुको उठबस दिदीबहिनीहरुका बिचमा हुनेभन्दा कत्तिपनि फरक देखिन्नथ्यो । आपसी बोलचालका क्रममा निस्कने आवाजमा पनि तिनको समानता थियो ।
मानव स्वास्थ्य समाज दाङले बुधवार दाङको घोराहीमा होमोफोबिया, ट्रान्सफोबिया र बिफोबिया बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनायो । त्यसको मुलनारा ‘सँधै संगै : विविधतामा एकता’ भन्ने थियो । उपस्थितहरुको पहिरनमा विविधता थियो । तर, संगै सजिलै हेलमेल भएका थिए । महिला र पुरुष जस्तै भएपनि एकरुपता थियो । सिंगो समाजमै यस्तै सहजता चाहेको सन्देश दिन्थे ।
दुईतिन जनाले मास्क खोल्न मानेनन् । उनीहरु सार्वजनिक हुन रुचाएका थिएनन् । सबैले चिनेपछि समाजमा विभेद हुन्छ भन्ने चिन्ता व्यक्त गरे । हेपाहा व्यवहार हुने भएकाले पुरुषकै कपडा लगाएको बताए । पुरुष जस्ता भएपनि त्यहाँ रहेका महिलासँग कुनै आकर्षण तथा लज्जाको भाव थिएन । खुलेर छलफल गरे । रमाइलोका साथ केही घण्टाको समय बिताए ।
परिवार, समाज तथा राज्यसँग अधिकार माग्न चरणबद्ध र निरन्तर अभियानमा रहेको प्रमुख चौधरीले बताउनुभयो । उहाँले परिवार र समाजबाट बहिष्कृत हुने डरले धेरै जना खुम्चिएर बसेको बताउनुभयो । उहाँका अनुसार खुलेर र खुशीसित बाँच्ने वातावरण बनाउन समाज परिवार र राज्यलाई घच्घच्याउनु छ । ‘पहिचान लुकाएर कहिले सम्म बस्ने ? उनीहरुको सामूहिक प्रश्न थियो ‘हामी यो हौं भनेर बाहिर निस्कन सकेका छैनौं, कहिलेसम्म डराएर बस्ने त ?’
उनीहरुका अनुसार महिला र पुरुष भन्दा फरक हो । त्यहि अनुसार सरकार र समाजले मान्यता दिनुपर्छ । त्यस अवसरमा मनिषा केसीले अहिलेसम्म छ किसिमका लैगिक अल्पसंख्यक रहेका जानकारी दिनुभयो । उहाँका अनुसार तिनिहरुलाई एजीविटिआईक्यू भनिन्छ । पुरुष पुरुष, महिला महिला, दुवै तर्फ उत्तिकै आकर्षित, बाहिरबाट हेर्दा केटा वा केटी, भित्र अर्कै भएको, अंग हेरेर पनि चिन्न नसकिने र समाज र आफैले पनि आफू के हुँ भनेर थाहा नपाइने गरी लिंग भएका लगायत छन् । उनीहरुलाई आफ्नो चाहना अनुसारको प्रेम गरेर विवाह गर्ने वातावरण छैन ।
परिवार र समाजले महिला पुरुष जसरी विवाह गर्न खोज्छ । त्यसले यातना महसुस गराउँछ र पीडित हुन्छन् । विवाह एउटासँग तर यौन पार्टनर अर्कै बनाएर जिविका चलाउनुपर्ने धेरैको बाध्यता छ । उनीहरु कामकाज र रोजगारमा बहिष्कृत छन् । शारिरीक मानसिक भावनात्मक आकर्षण अनुसार विवाह गर्ने अनुमति छैन । कानुनले सन्तान अंशियार हुने लेखेको छैन । त्यसैले महिला र पुरुषमा आफूहरु नपर्दा पैत्रृक सम्पतीबाट बिमुख हुनुपरेको उनीहरुको भनाई थियोे ।
उनीहरुले भनाई थियो, ‘हामी फरक छौँ, त्यसकै आधारमा हामीप्रति गरिने भेदभाव अपरोध हो ।’ उनीहरुले थपे, ‘हामीलाई महिला पुरुषसँग समानता चाहियो, अलग कानून राज्य चाहिएको होइन ।’ उनीहरुले महिला पुरुष नभई आफू जे हो त्यही लेखिएको नागरिकता पासपोर्ट चाहिएको बताए । ‘महिला हुन पाठेघर चाहियो, डिम्ब उत्पादन हुनुपर्यो । बच्चा पाउनु पर्यो । त्यो हामीबाट हुँदैन, उनीहरुले थपे लिंग एउटा छ यौनिकता अर्को हुन्छ’ उनीहरुले थपे, ‘महिला पुरुषलाई केही चाहिन्न, तर हाम्रो स्वास्थ्य प्रमाणपत्र किन खोजिन्छ ?’
समलैंगिकता रोग हो भनिन्थ्यो । विश्व स्वास्थय संगठनले सन् १९९० मे १७ मा समलंैगिकतालाई मानसिक रोगको सूचिबाट हटाएर प्राकृतिक हो भनेको थियो । यसकै सम्झनामा सन् २००५ देखि अन्तर्राष्ट्रिय रुपमा विश्वका धेरे ठाउँमा दिवस मनाउन थालिएको थियो । यो समलिंगी द्धिलिंगीहरुप्रति गरिने घृणा विरुद्धको दिवस हो । यौनिक तथा अल्पसंख्यक समुदायलाई मानवअधिकार प्रत्याभूति, लान्छना भेदभाव विरुद्ध परिवार समाज र राज्यको ध्यानाकर्षण गराउने हो । यसैक्रममा यस सम्बन्धि घोराहीमा अन्तरकृया र र्याली गरेर यो दिवस मनाइएको हो ।