• असार ३ २०८२, मंगलवार

अमेरिकाले ‘लिटिल बोइ’ खसालेर ८० हजार जापानी मारेको हिरोसिमामा जी-७ को बैठक बस्दै

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । जापानमा आजदेखि जी-७ बैठक सुरु भएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका आवद्ध जी-७ को बैठक मे २१ अर्थात् आइतबारसम्म चल्नेछ । बैठक जापानको हिरोसिमा शहरमा आयोजना गरिएको छ ।

हिरोसिमा त्यो शहर हो, जहाँ अमेरिकाले सन् १९४५ अगष्ट ६ मा ‘लिटिल बोइ’ नामक परमाणु बम खसाएको थियो । त्यो दोस्रो विश्वयुद्धको घटना हो । त्यो एकै बमले ६० देखि ८० हजार जनाको ज्यान लिएको थियो । हिरोसिमा जापानका प्रधानमन्त्री फुमियो किसिदाको गृहनगर पनि हो ।

परमाणु बम खसाइएकै ठाउँमा यी सात आर्थिक राष्ट्र सम्मिलित जी-७ बैठक आयोजना गर्नुको अर्थ परमाणु हतियारलाई निशस्त्रीकरण गरिनुपर्छ भन्ने सन्देशको रूपमा हेरिएको छ । तर पश्चिमा राष्ट्रसँगै उत्तर कोरियाले पछिल्ला दिनहरूमा परमाणु हतियार कार्यक्रमलाई तीव्रता दिन भने छाडेका छैनन् । शुक्रबार सात राष्ट्रका प्रमुख जापान पुगिसकेका छन् । उनीहरूसँगै युरोपेली युनियनका दुई प्रतिनिधिले आज हिरोसिमामा मारिएका मानिसहरूप्रति पिस मेमोरियल पार्कमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-७ बैठकमा सहभागी हुने कार्यक्रम छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि हाल जापानमा छन् । उनले जी-७ बैठकले रुसलाई थप कडा प्रतिबन्धहरू लगाउने र रुसलाई त्यसले गाह्रो बनाउने उल्लेख गरेका छन् । अमेरिकाले रुसमाथिको प्रतिबन्धको प्रस्ताव गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि नै पश्चिमा राष्ट्रहरूले विदेशमा रहेका रुसी सम्पत्ति रोक्का गरिदिएका छन् र उनीहरूले रुसी मुद्रासँग डलरको कारोबार गर्न बन्द गरिदिएका थिए । यस बैठकमा युरोपेली युनियनका नेता र जी-७ का नेताहरूले रुस-युक्रेन युद्ध रोक्ने शान्ति योजनाबारे पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यसपटक जी-७ बाहिरका राष्टहरू अस्ट्रेलिया, भारत, ब्राजिल, कोमोरोस, कुक आइल्यान्ड, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका राष्ट्र प्रमुखलाई पनि निम्तो दिइएको छ । जी-७ का राष्ट्र प्रमुखहरूलाई जापानका प्रधानमन्त्री फुमियो किसिदाले सौहार्दपूणर् ढंगबाट जापानमा स्वागत गरेका थिए । रोयटर्स र बीबीसीको सहयोगमा ।