• असार ४ २०८२, बुधबार

सहमति बिनै बंकर खन्न थालेपछि गुन्जीबासीले गरे भारतीय सेनाविरुद्ध नाराबाजी

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । नेपालको चुच्चे नक्साभित्र पर्ने कालापानी क्षेत्र अन्तर्गतको गुन्जी गाउँमा स्थानीयबासी र भारतीय सेनाबीच विवाद बढेको छ । स्थानीयबासीको सहमतिबिना नै भारतीय सेनाका ठेकेदारले गुन्जी गाउँ क्षेत्रका रुख काटेकाले वन विभागलाई जानकारी गराउने तयारीमा छन् ।

भारतले कब्जा गरेको जग्गा नेपालले ०७७ सालमा आफ्नो नयाँ नक्सामा समेटेको विवादित-लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको तीन प्रमुख गाउँहरुमध्ये एक हो-गुन्जी गाउँ । त्यस क्षेत्रमा नेपालले दाबी गरेका कुटी, गुञ्जी र नाभी तीन गाउँ छन् । जहाँ नेपालले २०१८ सालको जनगणनासमेत गरेको थियो ।

झण्डै ६० वर्षदेखि भारतले कब्जा जमाउँदै आएका कारण त्यस क्षेत्रका बासिन्दा भारतीयजस्तै बनाइएका छन् । उनै स्थानीयहरु अहिले भारतीय सेनासँग क्रोधित बनेका हुन् । नेपालको भूमि कालापानी, टिङ्करमा क्याम्प खडा गरी बसेको भारतीय स्थल सेनाले गुन्जी गाउँनजिकै रहेको स्थानीय वन मासेर सेनाको बन्कर बनाउन जेसिभी प्रयोग गरी अहिले खनिरहेका छन् ।

अहिले डोजर चलिरहेको ठाउँ गुन्जीबासीको पवित्र धार्मिक स्थल हो, जहाँ भगवान शिवको मन्दिरमा पुजा गरिन्छ । हरेक वर्ष मेला लाग्ने त्यहाँ १२ वर्षमा एकपटक ठूलो मेला लाग्ने गर्छ । भारतीय सेनाले धमाधम बाटो खनेर स्थानीयका खेतबारी भत्काइदिएको छ ।
भारतको राष्ट्रिय राजमार्ग गुन्जीस्थित कालापानीभन्दा माथि लैजान नदिने स्थानीयबासीले बताएका छन् ।

भारतीय सेनाको बङ्कर बनाउँदै गरेको ठाउँ गुन्जी गाउँका मान्छे मर्दा अन्त्यष्टि गर्ने स्थान हो । गुन्जीका एक स्थानीयले बताए, ‘अब सेनाका ठेकेदारहरुले काम रोक्नुपर्छ नरोके हाम्रो आन्दोलनले उग्ररूप लिनसक्छ ।”

गुन्जीगाउँको मनिलामा ४० वटा घर-पसल रहेका छन् । उनीहरुलाई पनि भारत सरकारले त्यहाँबाट उठ्न उर्दी जारी गरिसकेको छ ।
काम गरेर परिवार पालिरहेका स्थानीयलाई भारतीय सेना र भारत सरकारले उठाउन नमिल्ने ग्राम पन्चायत प्रधान सुरेश गुन्जियाल बताउँछन् । बन्कर खन्दै गरेको स्थानमै गएर स्थानीयले ‘भारतीय सेनाका ठेकेदार फिर्ता जाउ भन्ने नारा जगाउँदै जुलुश निकालेका छन् ।

‘सेनाले यति धेरै क्याम्प बनायो । त्यसमाथि हाम्रो आस्थाको केन्द्रमा समेत बन्कर बनाउन खोज्नु अन्याय हो र धोका हो यसका विरुद्ध जहाँसम्म जानुपरे पनि जाने छौँ’, एक स्थानीयले बताए ।

प्रधान गुन्जियाल अविलम्ब कालापानीस्थित निर्माणाधीन स्थलमा काम रोक्न भारतीय गृहमन्त्री, रक्षामन्त्री, उत्तराखण्डका मुख्यमन्त्रीलाई समेत पत्र पठाउने तयारी गरिसकेको बताउँछन् ।