काठमाडौं । जापानमा सवारी दुर्घटनामा परि मृत्यु भएका दुई नेपाली विद्यार्थीको परिचय खुलेको छ । ओखलढुंगा चिशंखुगढी गाउँपालिका-२ का २७ वर्षीय युवराज थापा र काभ्रे भुम्लु गाउँपालिका-९ का २२ वर्षीय नवराज तामाङको सवारी दुर्घटनामा परि मृत्यु भएको हो ।
जापान टाइम्सका अनुसार मियाग प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मगंलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिएको थियो । उक्त बसमा प्राविधिक समस्या आएपछि रोकेर राखिएको थियो ।
बसमा धुँवा आएपछि रोकेर मर्मत गर्न लागेको बेला ट्रकले ठक्कर दिदाँ मृत्यु भएको युवराजका काका तोरणबहादुर थापाले बताए । ‘युवराजका साथीहरूले बस मर्मत गरिरहेकी चालकलाई लाइट देखाइरहेका थिए रे,ʼ उनले भने । दुर्घटनामा परि बसकी चालकको पनि मृत्यु भएको छ । युवराज जापान गएको जेठ २ गते एक वर्ष भयो। युवराज घरका एक्ला छोरा हुन् । उनी कक्षा १२ सम्म यही पढेर थप अध्ययनका लागि जापान गएको तोरणबहादुरले बताए ।
चिशंखुगढी गाउँपालिका-२ वडाध्यक्ष नरेन्द्र बस्नेतका अनुसार गाउँकै युवाले युवराजको शव नेपाल ल्याउने प्रयास गरिरहेको बताए ।
‘राम्रो पढ्ने मान्छे भएकाले उसँग धेरैको चिनजान थियो,ʼउनले भने ।
वडाले पनि यहाँबाट सक्ने सहयोग गरिरहेको उनले जानकारी दिए । काभ्रेका नवराज तामाङ गत कात्तिकमा मात्र जापान गएको उनका दाई दुर्गा तामाङले बताए । ‘नवराज चालकलाई सहयोग गर्न बसकै छेउमा उभिएको सुन्नमा आएको छ,ʼ उनले भने ।
उनलाई नवराजका साथीहरूले फोन गरेर शव नेपाल ल्याउने प्रक्रिया चलिरहेको बताएका छन् । उनले भाइको शव नेपाल ल्याउन परराष्ट्र मन्त्रालयमा निवेदनसमेत दिइसकेका छन् ।