काठमाडौं। राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थामशेर्कु ट्रेकिङ कम्पनीले जनाएको छ ।
थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड समेत राखेका छन् । उनी आफ्नो धर्मपत्नी पासाङ ल्हामुले सगरमाथाको चुचुरो चुम्दै रेकर्ड राखेको ३० वर्षपछि सगरमाथा चढेका हुन् ।
१० वैशाख २०५० का दिन पासाङ ल्हामुले सगरमाथा आरोहण गर्दै नेपालको पहिलो महिला आरोही बनेकी थिइन् । त्यसबेला श्रीमान सोनाम समेत सँगै थिए ।
तर, उनी क्याम्प २ भन्दा माथि जान सकेका थिएनन् । सोही दिन आरोहण पुरा गरी आधार शिविर फर्कने क्रममा पासाङ ल्हामु शेर्पाको निधन भएको थियो । थामशेर्कु ट्रेकिङले सोनाम आधार शिविरतर्फ फर्किरहेको समेत जनाएको छ ।