काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन् ।३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।
उनले सन्देशमा, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’ भनेका छन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते राजनीतिक कामको शिलशिलामा पोखराबाट चितवन फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
जुन दुर्घटना आजसम्म पनि रहस्यको गर्भमा छ । जीप दुर्घटनामा परेर दुई नेताको निधन भएपछि त्यसलाई हत्या भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले आन्दोलनमा उत्रिएको थियो । सो घटना हत्या हो वा दुर्घटना भन्ने अझैसम्म खुल्न सकेको छैन । यो ३० वर्षको बीचमा नेकपा एमाले पटक पटक सत्तामा पुग्यो भने भण्डारीकी श्रीमति विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति समेत बने ।