काठमाडौं । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।
नयाँ परामर्श शुल्क रू ९४० देखि रू ४२० सम्म तोकिएको डा तिवारीले बताए । नयाँ शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू ४२० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू ५१५ तोकिएको छ ।
यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको रू सात सय ५० र पाँच वर्ष बढी अनुभव भएको रू आठ सय शुल्क तोकिएको छ ।
यस्तै पाँच वर्षसम्मको अनुभव भएका डिएम/एमसीएच तहका चिकित्सकको रू ८८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको रू ९४० र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडी/एमएस/एमडिएसका चिकित्सकको रू ९४० शुल्क निर्धारण गरिएको छ ।