अमेरिकामा शरणार्थी पठाउन निकै होडबाजी थियो, एकताका । पानी धमिलो बनाउने र माछा मार्ने खेल निकै फस्टाएको थियो । तात्कालिन सरकार र सरकारमा आसिन ठूला मानिसको उपदेश थियो, ‘आफ्ना मानिसको भलाइ गर्नुपर्छ ।’
आफ्ना मानिसको आशय थियो, ‘सरकारमा बसेका आफ्ना मानिसले गर्ने यही त हो, पैसा हामी जुटाउँछौं जति भए पनि ।’ ती मानिसले पैसा जुटाए, तात्कालीन सरकारमा आसिन आफन्तले गर्न लागेका उद्दार र कल्याणकारी कार्यमा ।
आज तिनै पैसा जुटाउनेहरूले धमाधम उजुरी हालिरहेका छन् । छानविन र कारवाही भइरहेको छ । भनिन्छ, घुस खाने र घुस दिने दुवै राज्यका शत्रु हुन् । तथापि अहिलेलाई घुस दिने ‘सूचना कर्ता’ र खाने ‘घुस्याहा’ बनिरहेको छ ।
पैसाका लागि जे पनि गर्न तत्पर मानिसको मनोविज्ञानमा बदलाव आओस् । अलिकति भए पनि सकारात्मक माहोल त देखिएको छ । जनता जुन पार्टीका भए पनि भ्रष्टाचार र भ्रष्टाचारीविरूद्ध आवाज उठाइरहेका छन् ।
भ्रष्टाचार नेपाली समाजको विकास र अग्रगमनका लागि सबैको साझा रोग हो । मानिस आफ्ना पार्टीका हुन सक्छन्, तर रोग चाहिँ आफ्नो हुन सक्दैन भन्ने कुरा बोध गर्ने जनतालाई र पार्टीका कार्यकर्तालाई पनि धन्यवाद ।
अबका दिनमा नेपाली समाजमा रहे बसेका भ्रटाचाररूपी अल्सर र क्यान्सरलाई बिदाइ गर्दै जानु पर्छ । समाज क्रमशः शिक्षित हुँदै र परिवर्तन हुँदै गएको छ । यसले नयाँपनको बोध र आभाष दिन थालिसकेको छ ।
खोजविनको दायरा वृहद बनाउनु जरूरी छ । यसको अर्थ अवैध रूपमा विदेश जान चाहने मानिसको अवैध कारोवार रोकियोस् । सरकारमा रहेर मानव तस्करी गर्ने गिरोहको आत्मबल नबढोस् ।
बरू घुस खाएर मानव तस्करी गर्ने मानव तस्कर र घुस दिएर मानव तस्करी गर्न इच्छा जाहेर गर्ने ‘मानव पशु’ सबैलाई यसले पाठ सिकाओस् ।