काठमाडौं । तत्कालीन नेकपा विभाजन पश्चात् एमाले विभाजन भयो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियान गठन गरे ।
एकीकृत समाजवादी पार्टी गठन भएको दुई वर्ष पुग्दैछ भने एकता राष्ट्रिय अभियान गठन भएको एक वर्ष पुग्न दुई महिना बाँकी छ । यद्यपि यी दुई दलमध्ये एकीकृत समाजवादी निर्वाचनमा होमियो र सोचेजस्तो परिणाम हासिल गर्न सकेन भने एकता राष्ट्रिय अभियानले निर्वाचनमा भाग लिएन ।
माधव नेपाल र वामदेव गौतम नेतृत्वको पार्टीको सांगठानिक संरचना पुरानै दल कांग्रेस, एमाले र माओवादी केन्द्रको जस्तो छ भने कार्यशैलीमा पनि फरक देखिँदैन । पार्टीका भगिनी संरचना र तिनको कार्यशैली हेर्दा यी दुवै दलको भविष्य उकालो लाग्दैन भन्ने विश्लेषण भइरहेको छ ।
किनकि हरेक पार्टीको प्राण सांगठानिक संरचना हो । यिनै संरचनाले नै माउ पार्टीलाई बल पुग्ने हो । तर, नेपाल र गौतम नेतृत्वको पार्टीमा लुप्त सांगठानिक संरचना, अक्षम नेतृत्व र नयाँ सिद्धान्त प्रतिपादन नहुनेले सिंगो पार्टीमा नै खलल आएको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
तथापि यी दुवै पार्टी नवगठित भए पनि नेतृत्वमा पुरानै छन् । जसले यो देशलाई हाँक्ने जिम्मा पाइसकेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् ।
त्यस्तै एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पनि उपप्रधान तथा गृहमन्त्री भइसकेका नेता हुन् । नेपाल र गौतम एमालेमा रहँदा सधैँ चर्चामा रहने नेतामध्येमा पर्दछ । यी दुवै पार्टीमा बलियो गुड निर्माण गरेर मुख्य नेतृत्वसँग पौठेजोडी कस्ने नेता थिए ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा गठन पश्चात् नेपाल र गौतम पार्टीको खासै ठूलो भूमिकामा थिएनन् । तर, पार्टीको महत्वपूर्ण निर्णयमा यी दुवै नेताको भूमिका कम हुन्नथ्यो । गौतमको तुलनामा भने नेपालको भूमिका बेसी नै थियो ।
नेकपा गठनको तीन वर्ष पुग्दा नपुग्दै पार्टीमा दरार उत्पन्न भयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमाबीचको आन्तरिक बेमेलले अन्ततः नेकपा विभाजन हुन पुग्यो । नेकपा विभाजन पश्चात् एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए ।
त्यसपछि एमाले पार्टीमा उलटपुलट आयो । पार्टी नै तीन चिरा बन्न पुग्यो । एमालेको नेतृत्व ओलीले नै सम्हाले भने नेपाल र गौतमले नयाँ पार्टी गठन गरेका छन् । एमालेमा अहिले पनि जनताको बहुदलीय जनवादलाई अंगिकार गरेको ओलीलगायत नेताहरू बताउँछन् । एमाले तत्कालीन महासचिव स्वर्गिय मदन भण्डारीले प्रतिपादन गरेको जबजका हिमायती अहिले पनि उतिकै देखिन्छन् ।
तीमध्येका एक हिमायती वामदेव गौतम पनि हुन् । उनले आज पनि जबजको रटान छोडेका छैनन् । नेपाल भने अहिलेको बदलिँदो राजनीतिक परिवेशमा जबजको महत्व नरहेको बताउँदै आएका छन् । नेपाल–खनालले एकीकृत समाजवादी गठन ताका नै जबज त्यागिसकेका छन् ।
वामदेव गौतम भने अहिले पनि जबजलाई आत्मसाथ गर्नैपर्ने अडानमा छन् । उनले गठन गरेको एकता राष्ट्रिय अभियानको मूल सिद्धान्त जबज रहेको बताएका छन् । उनी जबजको आधारमा टेकेरमात्रै पार्टी र देश निर्माण गर्न सकिने तर्क गर्छन् ।
यहीँ तर्कलाई अगाडि सार्दै आएका गौतम एकीकृत समाजवादीसँग दलगत एकताका लागि अगाडि बढेका छन् । उनले माधव नेपालसँग बेलाबेला भेटने गरेका छन् । भेटमा पार्टी एकताबारे छलफल भएको बताईन्छ । एकताबारे प्राविधिक कुरामा सम्झौता भए पनि सैद्धान्तिक मतभेद कायमै रहेको एकता राष्ट्रिय अभियानका एक नेता बताउँछन् ।
उनका अनुसार पार्टी एकताबारे नेपाल र गौतम सकारात्म भए पनि जबजमा हलो हड्किएको छ । यसबारेमा दुवै नेताबीच आपसी गम्भीर छलफल हुँदै आएको छ । तर, निकास भने निष्किएको छैन । गौतम कमरेडले जबजलाई आत्मसाथ गर्नुपर्ने अडान राख्नु भएको छ । तर, नेपाल कमरेड जबज पुरानौ भइसकेको र वर्तमान अवस्थामा यसको खासै महत्व नरहेको बताउँदै आउनु भएको छ । यसमै कुरा नमिलेको मात्रै हो । अन्यथा पार्टी एकतामा असम्भव छैन ।
केही दिनअघि नेपाल र गौतमबीचको भेटवार्तामा पार्टी एकताको विषयमा सघन छलफल भएको थियो । छलफल सकारात्म भएको दुवै नेताको निष्कर्ष थियो । तर, पार्टी एकताको कोर्ष कहाँसम्म पुगेको छ भन्नेबारे दुवै दलका नेताको स्पष्ट जवाफ छैन ।
गौतमले एकता राष्ट्रिय अभियान गठन गर्दा एमाले, माओवादी र एकीकृत समाजवादीलाई ध्रुवीकरण गरेर लैजाने बताएका थिए । ध्रुवीकरणका लागि उनले ओली, प्रचण्ड र नेपालसँग भेटवार्ता र छलफल नगरेका होइनन् । तर, नेतात्रयको ध्रुवीकरणप्रतिको वितृष्णाले आजित गौतम एकीकृत समाजवादीसँग पार्टी एकता गर्न तयार देखिएको स्रोत बताउँछ ।
तर, गौतमनिकट स्रोतले दिएको जानकारी अनुसार पार्टी एकता गर्ने नै हो भने नेपालले जबजको सिद्धान्तलाई अंगिकार गर्नुपर्ने छ । तथापि नेपाल–खनाल भने जबज अंगाल्ने पक्षमा छैनन् । नेपाल र गौतम नेतृत्वको पार्टीबीच एकताको अड्को यहीँ सिद्धान्तमा छ । जसका कारण तत्काललाई पार्टी एकताको सम्भावना न्यून बन्दै गएको छ ।