काठमाडौं । भ्रष्टाचारविरुद्ध विश्वव्यापी काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टरले भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको स्वागत गरेको छ। टीआई नेपालले एक विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा छानबिन प्रभावित नगर्न खबरदारी गरेको छ।
टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले एक विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारको दबाबले छानबिन प्रभावित नहोस् भनी सरकारसँग आग्रह गरेकी छन्।
‘हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबाबबाट प्रभावित नहोस्। कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेस गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारबाही होस्।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले स्वागत गरेको छ।
आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असूली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लुट र मानव तस्करीको संगठित अपराध मात्र होइन, राज्यविरुद्धको, नागरिक विरुद्धको र मानवता विरुद्धको अक्षम्य अपराध भएको टीआईको टिप्पणी छ।
‘यो अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रहरूको सदासयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसमा कार्यपालिकाका वरिष्ठ सदस्यहरूको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकहरूले निरन्तरता दिंदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको संकेत दिएको छ, जसले नेपाल र नेपालीलाई अत्यन्त दुःखद एवं अवाञ्छनीय प्रश्नहरूसामु खडा गरेको छ।’