काठमाडौंको हनुमानढोका दरबार छेउमा उत्तरतिर फर्केको ठूलो काल भैरवको मूर्ति रहेको छ । यो मूर्ति मल्लकालिन समयको हो भन्ने गरिन्छ । नागार्जुन पहाड उत्खनन् गर्दा भेटेर ल्याएको र बसन्तपुर दरबार अगाडी स्थापना गरेको मानिन्छ । यो मूर्तिलाई मल्लकालमा नेपालको न्यायालयको रुपमा प्रयोग गरिएको देखिन्छ । यस मूर्ति छेउमा अपराधीहरुलाई ल्याएर न्याय सम्पादन गरिन्थ्यो । तिनै काल भैरव सम्बन्धी रोचक किम्वदन्ती यसप्रकार छ ।
उहिले एक जमानामा काठमाडौंमा एक विवाहित दम्पती बस्दथे । तिनीहरु एक अर्कामा निकै माया गर्दथे । उनीहरुको मायाप्रेम बारे सारा काठमाडौं भरि चर्चा फैलिएको थियो । सीता-राम जस्ता जोडी भनेर मान्छेहरुले उदाहरण दिन्थे । एकले अर्कालाई जुनसुकै कुरामा पनि सहयोग गर्दथे । आफ्नो घरमा जे मसिनो मिठो पाके पनि प्रेमपूर्वक खान्थे । विवाह भएको धेरै समयसम्म पनि यी दुई जोडीको बच्चा भएका थिएनन् । यिनै कुराले स्वास्नी चाहीँ दुःखिहुँदै गइन् ।
यसैक्रममा बिस्तारै बिस्तारै श्रीमतीले श्रीमानसँग टाढा हुँदै गइन् । विभिन्न बाहानामा घरबाट खाली बाहिर जान थालिन् । श्रीमान दिनभरि मरिमरी कामगर्ने तर श्रीमती डुलेर खाने भइन् । भनेको समयमा समेत श्रीमानले खानेकुरा खान पाएनन् । श्रीमानलाई ज्यादै पीर पर्यो । विभिन्न चाडपर्वमा समेत श्रीमानलाई एक्लै छोडेर नजाने श्रीमती अब दैनिकजसो बाहिर जाने भइन् ।
बिस्तारै टोल छरछिमेकीले समेत कुरा काट्न थाले । छिमेकीहरुको कुरा सुन्दा सुन्दा श्रीमानलाई समेत हैरान भयो । श्रीमानले मनमा समेत चिसो पस्यो । आफ्नो श्रीमतीको परपुरुषसँग सम्बन्ध त थिएन ? भन्ने शंका लाग्न थाल्यो । चखेवा जोडी जस्तै मिलेर बसेंका जोडी अथवा जे कुराहरु पनि बाँडेर खाने दम्पती अब ससाना कुराहरुमा पनि मनमुटाव हुन थाल्यो । घर आँगन जहिले पनि सफा सुग्घर र चिटिक्क हुने स्थानमा फोहोरको डंगुर हुन थाल्यो । बाहिरबाट कोही आयो भने पनि सबैले नराम्रो दृष्टिले हेर्ने भए ।
सधैभरि यसरी बेमेल हुने र छरछिमेकीले कुरा काट्न थालेपछि श्रीमानले राजा कहाँ उजुरी दिने बिचार गरे । एकदिन श्रीमान राजा कहाँ गएर उजुरी दिए । राजाले उजुरी अनुसार काम कार्वाही बढाउन दुबैलाई बोलाए । अनि राजाले सोधे ‘तिम्रो लोग्ने त तिमी बाहिर बाहिर अरुसँग सम्बन्ध गाँसेर हिंड्छौ रे ? के तिमी काल भैरवमा आएर क्रिया खान वा सत्यवाचा गर्न सक्छेउ ? राजाको प्रश्न सुनेपछि श्रीमतीले भनिन्
‘महाराज म आजको दुई दिनपछि क्रिया खान आउन सक्छु । माइतीमा मेरी आमा साह्रै बिरामी छिन् ।
उहाँलाई हेरविचार गरेर आउँछु र त्यसपछि म सभामा कसम खान सक्छु । त्यसपछि जे सजाएँ मैले भोग्नु पर्ने हो । म भोग्न तयार छु ।’ राजाले तीन दिनपछि आउने आदेश दिंदै विदा दिए । उनी राजसभाबाट सिधै माइत गईन् । त्यस बखत काठमाडौंमा न्याय निसाफ छिन्नु पर्यो भने बसन्तपुरको काल भैरव अगाडी आएर सभामा क्रिया खानु गर्दथ्यो । जसले झुठो बोल्यो उसले त्यही सभामा रगत छाड्ने गर्दथ्यो भन्ने जनविश्वास थियो । यही जनविश्वासले गर्दा कसैले पनि झुठो बोल्ने साहस गर्दैन्थे ।
श्रीमती माइत गएर आमासँग अलि निन्याउरो मुख लगाएर बसिन् । आमाले सोधिन् ‘हैन आज तिमी एक्कासी आयौ । मुख पनि अलि मलिन देख्छु, कतै विरामी वा आपत त परेन छोरी ?’ छोरी चुप्प लागेर बसिन् । आमाले धेरै दिनपछि आएकी छोरीलाई मिठो मिठो खानेकुरा ख्वाइन् । राती अबेरसम्म आमा छोरी संगै बसेर कुराकानी गरे । आमासँगको कुराकानीमा छोरीले बच्चा नभएको र आफूले पनि बच्चा खेलाउन मन परेको कुरा आमालाई सुनाइन् ।
आफू अझै केटाकेटी जस्तो भएको र अहिलेसम्म पनि आमाको काखमा लडिबुडी खेल्न मन परेको सुनाइन् । राती सपनामा पनि आमाले दुध ख्वाएको झल्झली याद आउने गरेको र त्यही चिन्ताले आफू ग्रसित भएको कुरा सुनाउँदै आमासँग अनुरोध गरिन् । ‘आमा त्यो सम्झनालाई बिर्सनका लागि मलाई एक पटक बच्चा सम्झेर स्तनपान गराउनुहोस् भनिन । यो कुरा सुनेर आमाले पनि आफ्नो छोरीको समस्या बुझेर यदि छोरीको भलाई नै हुन्छ भने आफैले दुध ख्वाएर हुर्काएको छोरीलाई एक पटक कसैले पनि नदेख्ने राती दुध ख्वाएँ भने केही फरक पर्दैन भनेर सोचेर दुध ख्वाइन् । छोरी साह्रै खुशी भइन् । छोरीले आफूलाई स्तनपान गराउँदा आफू सानै भएको महशुस पनि गरिन् । आमासँगै लडीबुडी पनि एकछिन खेलिन् ।
छोरीले आफ्नो बाल्यकालको सम्झना ताजा पारेको हुनाले आमा पनि दङ्ग थिइन् । तेस्रो दिन काल भैरवको स्थानमा राजाका सबै भाई भारदारहरु जम्मा भएर बसेका थिए । तिनै सभामा श्रीमती पनि उपस्थित भइन् । सभामा दुबै श्रीमान श्रीमतीलाई कालभैरव अगाडी उपस्थित गराइयो । न्याय हेर्ने राजाका कर्मचारीले श्रीमतीलाई सोधे । ‘तिम्रो श्रीमानले तिमी पर पुरुषसँग लागेको दोषारोपण गरेको छ । के तिमी काल भैरव छोएर कसम खान सक्छेउ ?’ श्रीमतीले खुशीसाथ भनिन्, ‘म काल भैरव छोएर कसम खान सक्छु । उठेर गइन् र काल भैरव छोएर सत्य धरोधर्म कालभैरवको कसम खाएर भन्छु । मैले अन्तिम पटक आमाको दुध खाएर छोडेको समयदेखि कुनै परपुरुषसँग सम्बन्ध राखेको छैन भगवान् ।’ कसम खाएपनि उनलाई केही भएन ।
सबैजना श्रीमती निर्दोष रहेको कुरा सम्झेर आआफ्नो घर गए राजाले श्रीमतीलाई केही नभएको देखेर श्रीमानलाई यस्तो झुठो बोल्ने हो ? भनेर हप्ताए । फेरि यस्तो उजुरी दिन आए श्रीमानलाई दण्ड दिने पनि सुनाए । श्रीमान लुरुक्क परेर घर गए । उनको पछिपछि श्रीमती पनि गइन् । काल भैरवले ती बुढाबुढीको न्याय निसाफ दुधको दुध पानीको पानी छुट्याएकोले सबै खुशी भए । तर काल भैरव ती महिलाको चलाख दाउ सम्झेर आफै मुसुमुसु हाँसेर बसे । काल भैरबलाई सत्य थाहा नभएको होइन तर त्यो महिलाको चलाखिपनले चुप रहन बाध्य भए ।
यी कुराहरुले काल भैरवलाई लाचारी बनाए पनि त्यो महिलाको बुद्धि देखेर मुसुमुसु हाँस्न बाध्य बनाए । हालसम्म पनि काल भैरवको मूर्ति हेर्यो भने माथिल्लो दाँतहरु देखाएर हाँसिरहेको देखिन्छ । त्यो दिनदेखि हालसम्म पनि काल भैरव मुसुमुसु हाँसिरहेको जनविश्वास छ ।