काठमाण्डौ।अत्यधिक हिमपातका कारण मुगु कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । त्यस क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन ।
यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोरा बेपत्ता भएका थिए ।
उनीहरुको खोजीमा मंगलवारदेखि सुरक्षाकर्मी लागि परे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिए ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो ।सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ ।