• मंसिर ११ २०८१, मंगलवार

देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्य नै विरोधमा उत्रियो : नवल खड्का

बैशाख २६ २०८०, मंगलवार

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले  देशभक्तिपूर्ण चलचित्र निर्माण गर्दा राज्य नै विरोधमा उत्रिएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा चलचित्र काँडेतारबारे अन्तरक्रियामा खड्काले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन राज्यसत्ता नै लागेको आरोप लगाए ।

‘केही संवाद र दृश्य काट्नुस् भनेको छ, फिल्ममा कसैलाई असर गर्दैन, जनतामा यो पुग्न दिनुस् भनेको छु, जस्ताको त्यस्तै चलचित्र प्रदर्शन गर्न दिनुस् भनेको छु, मान्नुभएन भने न्यायको लागि अदालत जाने सुविधा छ,’ खड्काले भने, ‘जनताको चलचित्रलाई देशभक्त चलचित्रलाई खेदेको खेदै गर्ने, तनाव मात्रै दिने, संवेदनशील फिल्म नबनुन् भन्ने लाग्छ कि के हो ? माया गर्ने मानिस नहुन् भन्ने लाग्छ भने केही भन्नु छैन ।’

सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफ्नो रहेको उनको भनाइ छ ।

देशभक्त चलचित्रलाई राज्यसत्ता नै लागेर खेदेको उनको भनाइ छ । देशभक्त चलचित्र प्रदर्शन गर्न नदिने र फिल्ममा त्यस्ता अपाच्य दृश्य भए जेल सजाय भोग्न आफू तयार रहेको उनले बताए ।

‘मैले गलत काम गरेँ भने जेलमा हाल्नुस् तर किन देशभक्त चलचित्र किन खेद्ने ? देशका लागि गर्छु भन्दा यस्तो हुन्छ भने नेताहरूबाट के अपेक्षा राख्ने, नयाँ पुराना नेताहरूलाई बोलाएँ तर देशभक्त चलचित्रको बारेमा बोल्न हिच्किचाउनुभयो,’ उनले भने ।खड्काले देशभक्तिपूणर् चलचित्रबारे बोल्न ठूला र नयाँ पार्टीका नेताहरू नै हिच्किचाएको आरोप लगाए ।