काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द भएको छ । त्यहाँ आयोजना हुने लिडरसिप एक्सचेन्ज कार्यक्रममा आइजिपी कुँवर जाने तय भएपनि उनले आफ्नो भ्रमण रद्द गरेका छन् ।
भुटानी शरणार्थी प्रकरणका कारण उनले भ्रमण रद्द गरेको हुनसक्ने प्रधान कार्यालय स्रोत बताउँछ । उनको सट्टामा एआइजी किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ । एआइजी बज्राचार्यसँगै सदस्यहरू एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र सन्तोष खड्का छन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा डिआइजीलगायत प्रहरी अधिकृतहरूले बिदाइ गरेका थिए । वैशाख २७ देखि २९ गतेसम्म अमेरिकाको वासिङ्टन डि.सी. र न्युयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान हुनेछ ।
कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ ।