काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा एक जना मन्त्री पठाउन आनाकानी गर्दै आएको छ । आफूले पठाउन चाहेको मन्त्रालय रिक्त नभएको भन्दै उसले आनाकानी गर्दै आएको हो ।
उपनिर्वाचनको परिणाम पश्चात् सरकारमा एक मन्त्रीलाई सहभागी गराउने बताएको जसपाले हालसम्म कुनै निर्णय गर्न सकेको छैन । विगतदेखि नै शक्तिशाली र मालदार मन्त्रालयको दाबी गर्दै आएको जसपा अन्ततः आफ्नै भागको परेको मन्त्रालय गुमाउने सम्भावना देखिन्छ ।
जसपाले लिन चाहेका मन्त्रालय प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले लिइसकेको छन् । त्यस्तै प्रत्यक्ष जनसरोकारसँग जोडिएका मन्त्रालय सत्ता गठबन्धनका अन्य दलहरूको भागमा परेको छ ।
उप्रान्त पार्टीका शीर्ष नेताहरूबीच आपसी सल्लाह गरेर सरकारमा मन्त्री पठाउने वा नपठाउने विषयमा निर्णय गर्ने अध्यक्ष यादवले बताए । हिजो सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यादवले आफ्नो पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारको पक्षमा रहेको बताए । उनले सरकार परिवर्तन गर्ने हल्ला चलाए कसैको हित नहुने जिकिर गरे । सरकार परिवर्तन हुने कुरा निराधार भएको समेत बताए । सत्ता गठबन्धनको सरकारले पाँच वर्षसम्म निरन्तरता पाउनेमा विश्वस्त रहन समेत आग्रह गरे ।’
यादवले आफ्नो पार्टीको भागमा परेका मन्त्रालयमध्ये एक मन्त्रालयमा कसलाई र कहिले पठाउनेबारे बोल्न चाहेनन् । उनले पार्टीभित्र तत्काल कुनै निर्णय नभएकोले यसबारे बोल्न नचाहेको बताए । तर, उनले आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा ढिलो चाँडो मन्त्री पठाउने विषयमा सोच्नुपर्ने उल्लेख गरे ।
जसपाका एक सांसदको भने फरक मत छ । उनले आफ्नो पार्टी सरकारमा यसअघि नै सहभागी भएपनि भनेजस्तो मन्त्रालय नपाएको गुनासो गरे । बाँकी एक मन्त्रालयमा मन्त्री पठाउने वा नपठाउने अध्यक्ष यादवको स्वयत्तता भएको उनले बताए । तथापि आफ्नो पार्टीको भागमा परेको एक मन्त्रालयमा आफै जाने वा नजानेबारे अध्यक्ष स्वयंले निर्णय गर्न आनाकानी गरेको ती सांसद बताउँछन् ।
यद्यपि राजनीतिक वृत्तमा चलेको चर्चा अनुसार जसपाले पठाउनु पर्ने एक मन्त्री पदमा यादव आफै जाने सम्भावना रहेको थियो । उनको चाह पनि विगतदेखि नै यहीँ रहेको थियो । यहीँ अवसरलाई सदुपयोग गर्न उनी उपनिर्वाचनमा उम्मेदवार बनेको समेत आरोप छ ।
यादव उपनिर्वाचनमा पनि निर्वाचित भइसकेका छन् । उनी निर्वाचित भएको दुई साता बित्दा पनि बाँकी मन्त्रालयमा आफू जाने वा अन्य सांसदलाई पठाउनेबारे आजसम्म टुंगोमा पुगेका छैनन् । यता प्रधानमन्त्री प्रचण्डले जसपालाई मन्त्रीको नाम विलम्ब नगरी मन्त्रिपरिषदमा पठाउन बारम्बार निर्देशन दिँदै आएका छन् ।
प्रधानमन्त्री समक्ष सत्ता साझेदार कांग्रेस लगायतका अन्य दलहरूले रिक्त मन्त्रालयमा मन्त्रीहरूको पदपूर्तिमा ढिलाइ भएको गुनासो गरेका छन् । उनीहरूले जसपाको भागमा परेको मन्त्रालयमा उसले लिन नचाहे आफूहरूलाई दिन समेत प्रचण्डलाई दबाब दिँदै आएका छन् ।
यद्यपि प्रधानमन्त्रीले साझेदार दलहरूलाई केही समय पर्खन आग्रह गरेको स्रोत बताउँछ । स्रोतका अनुसार यहीँ महिनाको मन्तिम सातासम्म जसपाले मन्त्रीको नाम नपठाए साझेदार दलबाटै मन्त्री सिफारिस गर्ने आश्वासन दिएका छन् ।
जसपाले केही दिनभित्रै मन्त्रीको नाम नटुंग्याए आफ्नो भागमा परेको मन्त्रालय पनि गुमाउने सम्भावना देखिन्छ । त्यस्तै मन्त्रिपरिषद्को शक्तिशाली र मालदार मन्त्रालयमा मन्त्रीहरूको पदपूर्ति भइसकेकोले यादवले चाहेको मन्त्रालय नपाउने निश्चित छ ।
जसका कारण यादव सरकारमा जाने सम्भावना पनि न्यून छ भने उनले अब कसलाई पठाउने सोबारे तत्काल निर्णय गर्न नसक्ने टिप्पणी भइरहेको छ । किनकि जसपामा मन्त्रीका आकांक्षी आधा दर्जन बढी छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा हाल राज्यमन्त्रीसहित २३ जना मन्त्री छन् । उनले २५ वटासम्म मन्त्री नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ ।