• असार ४ २०८२, बुधबार

भारततिर भागेको आशंकामा रायमाझीलाई समाउन सिआइबीको टोली परिचालन

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेक एमालेका सचिव सांसद टोपबहादुर रायमाझीलाई खोज्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन भएको छ ।

रायमाझीको पनि संलग्नता देखिएको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट गत बुधबार पक्राउ अनुमति लिएको थियो । त्यतिबेला उनी अर्घाखाँचीस्थित कार्यक्रममा सहभागी भइरहेका थिए ।

आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि काठमाडौं गएर प्रहरीको अनुसन्धानलाई सघाउने उनले बताएका थिए । साँझ बुटवल पुगेका उनले रातिको काठमाडौं आउने फ्लाइट टिकट रद्द गरेका थिए । रद्द गरे पनि उनले बिहीबार दिउँसोसम्म आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित हुने जानकारी गराएका थिए ।

सांसद समेत रहेका व्यक्तिले आफैं उपस्थित हुने बताएपछि प्रहरी पनि उनलाई कुरेर बसेको थियो तर उनी नआएपछि उनको खोजी गर्न प्रहरी प्रधान कार्यालय नक्सालले सिआइबीलाई जिम्मा दिएको हो । ‘आउँछु भनेर पनि नआएपछि सिआइबीलाई जिम्मा दिइएको हो,’ प्रहरी उच्च स्रोतले भन्यो ।

सिआइबीले गत शनिबारदेखि रायमाझीको खोजी गर्न थालेको हो । उनी कहाँ छन् भन्ने खुलिसकेको छैन । तर भारतमा लुकेको हुनसक्ने भन्दै सिआइबीले त्यसअनुसार नै अनुसन्धान गरिरहेको उच्च स्रोत बताउँछ ।

उनी लखनउमा लुकेको हुनसक्ने अनुमान छ । यद्यपि यो कुरा पनि पुष्टि भइसकेको छैन ।
भुटानी शरणार्थी सम्बन्धी अनुसन्धान काठमाडौं परिसरले गरिरहे पनि रायमाझी पक्राउ गर्नलाई सिआइबीको टोली परिचालन भएको हो । यस्तै उनको खोजी गर्न प्रहरीले नियमित प्रक्रियाअनुसार ७७ वटै जिल्लामा पत्राचार समेत गरिसकेको छ ।

प्रहरीले यही घटनामा संलग्न रहेको आरोपमा उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको थियो । अहिलेसम्म ८ जनालाई प्रहरीले पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । केशव दुलाल, सानु भण्डारी, सागर राई, टंककुमार गुरूङ, डा.इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा प्रहरी हिरासतमा छन् ।

उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । अहिलसम्म ४४ दिन अनुसन्धान गरिसकेको छ ।