• असार ४ २०८२, बुधबार

अमेरिकामा नर्सिङ पेशाप्रति बढ्यो वितृष्णा, नर्सको हाहाकार हुने सम्भावना

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । कोरोना महामारीपछि अमेरिकामा नर्सको अभाव भएको छ । महामारीपछि करिब १ लाख जनाले नर्सिङ पेशा छोडेपछि पेशा नै संकटमा पर्नसक्ने जोखिम रहेको आपतकालीन नर्स संघको भनाइ छ ।

यस संघमा ५० हजार भन्दा बढी नर्स आवद्ध छन् । ४५ वर्ष नर्सिङ पेशामा बिताएका अध्यक्ष टेरी फोस्टर भन्छन्,‘मैले आपतकालीन कक्षमा ४५ वर्ष बिताएँ । अब अर्को कुनै व्यक्तिको मुखबाट तपाईंले यत्तिका दशक बिताएको कुरा सुन्न सम्भवत सक्नुहुन्न’, उनले भने ।

कोरोना महामारीपछि पेशाप्रतिको आकर्षण नै घटेको फोस्टर बताउँछन् । सन् २०२३ मा एएमएन हेल्थ केयरले नर्सिङ पेशामा आधारित सर्भेक्षण गरेको थियो । १८ हजार नर्समा गरिएको सर्भेक्षणले पेशाप्रति वितृष्णा बढेको देखाएको छ । एएमएनले प्रमुख क्लिनिकल अफिसर कोल एडमोन्सन भन्छन्, ‘नर्सिङ पेशाप्रतिको वितृष्णा अमेरिकी स्वास्थ्य क्षेत्रका लागि एक आँधी हो, यसले स्वास्थ्य क्षेत्रलाई तहसनहस बनाउन सक्छ ।’

गत जनवरीमा गरिएको सर्वेक्षणमा नर्सहरूमा आफ्नो पेशाप्रतिको सन्तुष्टी कम र पेशाले निम्त्याएको तनाव बढी पाइएको छ । बढ्दो धपेडी र तनावका कारण धेरैले यो पेशा नै त्याग्ने सोच बनाएको सर्वेक्षणले देखाएको छ ।

एक दशकअघिको सर्वेक्षण हेर्ने हो भने नर्सिङ पेशामा सन्तुष्ट हुनेहरू ८० देखि ८५ प्रतिशत थिए । हाल सन्तुष्ट हुनेको संख्या १० प्रतिशत विन्दुले कम देखिएको एएमएनको सर्वेक्षणमा भनिएको छ ।