• मंसिर १५ २०८१, शनिबार

देशको आर्थिक स्थिति निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ : पूर्व अर्थमन्त्री पौडेल

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको वर्तमान आर्थिक स्थिति निकै नाजुक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पौडेलले इतिहासमै पहिलोपटक राजश्व सङ्कलन कमजोर स्थितिमा रहेको र सरकार नियमित खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको बताए ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा बजेटको पुँजीगत खर्च ३० प्रतिशत पनि कट्न नसक्नु निकै विकराल स्थिति रहेको जिकिर गरे । ‘लक्ष्यको ५० प्रतिशत पनि राजस्व सङ्कलन हुन नसक्दा सङ्घीय सञ्चिति कोष २ सय अर्ब (२ खर्ब) बढीले ऋणात्मक जानुले अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको पुष्टि हुन्छ’ पौडेलले भने, ‘नट जोक । यस्तै अवस्था रहे मुलुकको अर्थतन्त्र कोल्याप्सको बाटोमा जाने खतरा देखिन्छ ।

निजी क्षेत्र अहिलेसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ’ उनले भने । यी सबै समस्यालाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्ने बताउँदै पूर्व अर्थमन्त्री पौडेलले कर्मकाण्डी शैलीको बजेटको सिद्धान्त र प्राथमिकता आउनु नहुने उनले बताए ।