सरकार वा कुनै आधिकारिक संस्थाको निर्णयको आडमा सार्वजनिक हानिनोक्सानी पुर्याउने चलन नेपालमा बढेर गएको छ । यसरी व्यक्तिगत र स्वार्थ समूहगत फाइदा लिने कार्य घिनलाग्दो रूपमा जनतामाझ उजागर भइ नै रहेका छन् ।
सरकारी वा कानुनी भाषामा यसलाई ‘स्वार्थ बाझिएको’ भन्ने गरिन्छ । यस्ता खालका स्वार्थको संघर्ष सबै प्रकारका शासकीय संरचनामा देखिने गरेको छ । जहाँ व्यक्ति वा समूह ‘बाँदरे झगडा’मा उत्रने गरिरहेका छन् ।
स्थानीय तहदेखि अन्तरर्राष्ट्रिय क्षेत्रसम्म स्वार्थ समूहको लबिङ र द्वन्द्व भइ नै रहने गरेको छ । हरेक देशका सार्वजनिक निकाय र सार्वजनिक संस्थामा त यो स्थायी जस्तै देखा पर्न थालिसकेको छ । देशीय तथा अन्तरराष्ट्रिय वित्तीय क्षेत्रमा त यसले ठूल्ठूला युद्ध र महायुद्ध निम्त्याउँदै आएको छ ।
स्वार्थको द्वन्द्व यति सघनबनिसकेको छ कि यसले व्यवस्थापकीय तथा नीतिगत निर्णयहरूमा अड्डा जमाइसकेको छ । यसको दुष्चक्रमा समाज र राज्य रूमलिइरहेको छ ।
नेपालमा पनि स्वार्थको द्वन्द्वले पछिल्लो समयमा निकै सघन खेल मैदान निर्माण हुँदै गएको छ । नेपालीहरू पनि यसलाई मजैले पचाउने अवस्थामा पुगिसकेका देखिन्छन् ।
आफ्नो दलको भनेपछि ‘सातै खत पनि माफी हुने’ अरूको भनेपछि झिंगा पनि बस्न नहुने चलन निकै देखिएको छ । सत्तामा गए बसेकाहरू कोही पनि निस्वार्थी छैनन् र हुन पनि सक्दैनन् ।
सर्पले सर्पको खुट्टा देखेको हुन्छ भने झैं एकले अर्काको स्वार्थको खेल र स्रोत यी सबैले देखिसकेका छन् । द्वन्द्व मच्चाउन उद्दत यस्ता स्वार्थ समूह सधैं सत्ताको वरिपरि झिंगे दाउँ थापेर बसिहेका हुन्छन् भने कोही सत्ताको तर मारेर दिन बिताइरहेका हुन्छन् ।
सार्वजनिक ओहदामा रहँदा राज्यसत्ताको स्रोत साधन दोहन गर्ने र नातावाद तथा कृपावादमा भविष्य देख्ने यिनको विशेषता हो । यिनीहरू आफूलाई स्वनियमन, आत्मअनुशासन र स्वसञ्चालन गर्न सक्दैनन् ।
सुसभ्य, सुसंस्कृत र सच्चरित्र जस्ता कुरा यिनका लागि परलौकिक र काल्पनिक हुन्छन् । यिनीहरूको लिला र इहलिला स्वार्थमै केन्द्रित हुन्छ ।
यस्ता समूहको बाहुल्य भएको स्थानमा व्यक्तिले आर्जन गरेको स्रोतसाधन, शक्ति र सम्पन्नता ‘सभ्याता’ र प्रगतिको मापन बनिरहेको हुन्छ ।
यिनीहरूको बोलवाला भएको ठाउँमा स्वार्थको द्वन्द्वलाई नियन्त्रण गर्ने र गलत कार्यमा संलग्नलाई दण्डित गर्ने कानुनको निर्माण नै हुँदैन ।
नेपालका शासक स्वार्थ बाझिएको सार्वजनिक ओहदा ग्रहण गर्नु अनि त्यही विषयमा निर्णय लिनु प्रतिष्ठा ठान्छन् । र, यसैलाई दैनिकी बनाएर प्रचार प्रसार गर्छन्, घिरौलाजत्रो नाक फुलाएर ! यो न त सभ्य व्यवहार हो, न त जिम्मेवारी नै । यो त एक जघन्य अपराध हो ।
अहिले सत्तापक्ष र प्रतिपक्षबीच यही स्वार्थको द्वन्द्व चलिरहेको छ । एक अर्का पानी माथिको ओभानो हुन खोजिरहेका छन् । सार्वजनिक पदमा रहँदा देशका नीति निर्माता भनिनेहरूले आफ्नै कन्सल्टेन्सी चलाइरहेका छन् ।
कुरा त्यति बेला मात्र सतहमा आउँछ, जब एउटाको स्रोतमाथि अर्काको हस्तक्षेप हुन्छ । यिनीहरूले राज्यलाई दोहन गर्न आआफ्ना स्रोत बाँडफाँट गरेका हुन्छन् । कहिलेकाहीँ अक्कलझुक्कल स्वार्थ बाझेका कुरा सतहमा आए पनि फेरि मिलेर सामसुम र थामथुम पारिहाल्छन् ।
सरकार टिकाउन बनेको गठबन्धन र सरकार ढलाउन बनेका गठबन्धन सबै यस्ता स्वार्थको द्वन्द्व चर्काउने र गलत गरेका मानिस लुक्ने र लुकाउने ‘बाघे ओढार’ बनेका छन् ।