काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् ।
आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटनमा लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताए ।
‘अब वाइडबडी काण्डको फाइल खोल्नुपर्छ । एनसेलको फाइल खोल्नुपर्यो । ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्यो,’ लिङ्देनले भने, ‘प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्यो ।’
सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने लिङ्देनले बताए ।
‘विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन । यो देखाउनका लागि मात्रै हुनुहुँदैन,’ लिङ्देनले भने, ‘यदि पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडी बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ ।’
वाइडबडी, ललिता निवास, एनसेल र क्यान्टनमेन्टको पनि फाइल खोल्न उनले आग्रह गरे ।
‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरू पक्राउ परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नामहरू आइराखेका छन्,’ लिङ्देनले भने, ‘तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्यो भने लामो समय पत्याइँदैन यो कुरालाई ।’
देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा रहेको भए पनि सरकारले अर्थतन्त्र सुधार्न कुनै कदम नचालेको लिङ्देनले बताए । सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उनको भनाई छ ।
‘देश कुनै पनि बेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ । अहिले राजश्व जति उठ्छ, त्यतिले चालु खर्च पनि धान्न सकिएको अवस्था छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरू छैन ।’