• असार २० २०८१, बुधबार

बुद्ध जयन्तीका दिन, विपश्यना ध्यानतिर तानिए दङ्गालीका मन

बैशाख २४ २०८०, आईतवार

घोराही, २४ बैशाख । ‘शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव जनस्तरबाट पास भएको घोषणा गर्दछु ।’ मञ्चमा उभिएका पाका मानिसले घोषणा गरे । लहर मिलाएर दर्शक दिर्घामा पलेटी कसी बसेका सैयौँले तालिको पर्रा लगाए । परर्र तालिबजेपछि तिनै बुढा मानिस जोशिलो र फुर्तिलो रुपमा देखिए ।

गौतम बुद्धले आम मानिसका लागि प्रयोगमा ल्याएको विपश्यना ध्यानमा ९३ वर्षीय नारायणप्रसाद शर्माको लत लागेको छ । केही बौद्धिक व्यक्तिहरु एउटै विधिबाट दुनियाँले शान्ति पाउन सक्दैन । अकाट्य र निर्विकल्प त्यस्तो विधि छैन भनेर तर्क राखेपनि शर्माको छेउमा भन्न सक्दैनन् ।

नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव क्रान्तिकारी योद्धा अहिले शान्तिको अभ्यासमा हुनुहुन्छ । उहाँका अनुसार गीतामा क्षेत्र भनेको शरीर भन्ने अर्थ छ । हिन्दु धर्मको प्रसिद्ध पुस्तक भागवत गीता पढ्दा भेटिन्छ । यसैगरी क्षेत्रको अर्थ निश्चित भूगोल भन्ने पनि लाग्छ । त्यसैले आफैबाट शान्ति क्षेत्र घोषणा गरौँ भनिएको हो । पहिला आफूलाई शान्त राख्न सक्यो भने अरुको भलाईको बारेमा सोच्न सकिन्छ । अब अन्तिम चाहना शान्तिको छ । ‘म बाँच्दासम्म यो अभियान छोड्ने छैन’ उहाँ थप्नुहुन्छ ‘जबसम्म प्राण रहन्छ तब सम्म गर्नेछु ।’

घोराहीको २५६७औं बुद्ध जयन्ति समारोह गुरुकुल एकेडेमी घोराही–१५ को प्राङ्गणमा आयोजना गरिएको थियो । एक जनाले इसारा गरेर बस्ने ठाउँ सिकाउनुहुन्थ्यो । सहभागीहरु थपथप बसेर ध्यान मग्न हुन्थे । अतिथि दिर्घामा सहायक आचार्य मेघराज ज्ञवाली पलेटी कसेर बस्नुभएको थियो । दर्शक दिर्घामा महिला र पुरुष अलग अलग स्थानमा शान्त मुद्रामा ध्यान गरिरहेका थिए ।

गुरुकुल एकेडेमीको बसमा ल्याएका कार्यक्रमका सहभागीलाई पनि सुरक्षागार्डले बाहिरै रोकिदिए । गेटभित्र कुनै किसिमको आवाज छिर्न नदिन त्यसरी सवारीका साधन बाहिरै पार्किङको व्यवस्था थियो । मोबाइल स्विच अफ वा भाइब्रेसनमा थिए । इमर्जेन्सी फोन आउनेहरु अलि पर गएर कुरा गर्थे । सैयौं मानिस सहभागी कार्यक्रममा कतै कुनै किसिमको होहल्ला थिएन ।

अग्लो टहराको कुना कुनामा राखिएको साउन्ड सिष्टमबाट प्रवचन सुनाइरहेको हुनाले आचार्यपनि पनि बोल्नुपरेको थिएन । त्यसमा भनिरहेको थियो । गृहस्तका लागि यो ध्यान लाभदायक छ । यो भन्ने कुरा मात्रै होइन । यो विद्या सबैले स्विकार्ने खाले, अपनाउँदा कसैलाई बाधा नपर्ने छ । हत्या, चोरी, व्यभिचारी नगरौँ । कटुवचन नबोलौँ । बेकामी कुरामा समय खेर नफालौँ ।

यो कुनै धर्म सम्प्रदाय जातसँग जोडिएको हुँदैन । जस जसले धर्म धारण गर्छ सबैको कल्याण हुन्छ । मानिसको मन बसमा हुँदो हो त शान्ति भंग हुने थिएन । त्यसले समाजको शान्ति भंग हुने काम गर्ने थिएन । अरुको सुख शान्ति भग हुने उनीहरको कष्ट हुने काम गर्दिन । नसा सेवन गरेर होस् गुमाउदिन भनेर भनिरहेको थियो, सहभागी आँखा चिम्लेर ध्यानमग्न थिए ।

मैले नसा सेवन गरेर चारैतिर अशान्ति पैदा गरेँ भने म कसरी शान्तिसँग बसुँला । अनुभूतीले अभ्यास गर्दै जाने हो । मनभित्र मयल र बिकार नजन्माउने सकौँ । चोरले मनभित्र लोभ जागे मात्रै चोर्छ । हत्या गर्नेको मनमा क्रोध जागेपछि मात्रै हत्या गर्छ । म गलत छु भन्ने आफ्नै अनुभवले थाहा पाउने विधि हो । दुष्कर्म गर्ने आफै व्याकुल हुन्छ । अरुलाई दुःख दिनु अघि आफूलाई दुःख दिन्छ ।

क्रोध जाग्ने बित्तिकै दुःखी हुन थाल्छ । मन नपरे क्रोध जगाउने मन परेको भेट आशक्ति जगाउने हुन्छ । सासमा ध्यान दिनु बौद्ध इसाई हिन्दु स्लाम हुँदैन । जसले अभ्यास गर्छ उसैलाई लाभ हुन्छ । यसो भनिरहँदा सेतो बस्त्र लगाएका ब्रम्हकुमार ओमशान्ति र पतञ्जलीका कट्टर हिन्दुवादी सहभागी थिए । अरु धर्मका भने पहिचान थिएन ।

क्रोध जाग्यो भनेपनि त्यसमा कुनै हिन्दु बौद्ध हुँदैन । शान्ति आयो भने त्यसलाई कुन धर्मको के नाम दिने ? धेरै खराब गर्ने, संसारको नराम्रो काम गर्नेले पनि मन निर्मम र एकाग्र बनाएकै हुन्छन् । यो विधि कर्मकाण्ड होइन, मन र शरीरको आपसमा हुने अन्तरकृया हो । नुहाएर आउनुपर्छ भन्ने छैन । बस्ने ठाउँ चोख्याउन गोबरमाटोले लिपपोत गर्नुपर्दैन । अनेक विधि घोक्नु पर्दैन । ओच्छ्यानमा पुगेर १० मिनेट जतिबेला पनि आनापान गर्न सकिन्छ । सबै धर्मका मानिसलाई ध्यानपछि आफ्नै लाग्छ । यो न बौद्धको हो, न हिन्दु इसाई स्लाम र अन्यको हो ।

ध्यानपछि मानिसमा परिवर्तन आएको छ । काम गर्ने शक्ति बढेको छ । भारतका विभिन्न राज्यले ध्यान गर्न जाने कर्मचारीलाई विदा दिने गरेका छन् । जेलमा पनि ध्यान प्रयोग भएको छ । ठूला अपराधमा संलग्न मानिसहरु बदलिएका छन् । तर यो जादु होइन । आफैलाई हानी गरेको छु, दुःखी बनाएको छु भन्ने जान्छ । यसरी माईकले भनेझैं विपश्यना ध्यान केन्द्र धम्मपराग घोराहीका अध्यक्ष समेत रहनुभएका शर्माकै नेतृत्वमा घोराही र तुलसीपुरका कारागारमा पनि ध्यान गरिएको थियो ।

नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस भन्ने प्रस्ताव नागरिक समाज दाङका अध्यक्ष केवी मसालले राख्नुभयो । एक पृष्ठको प्रस्ताव पढेर सुनाएपछि सहभागी सबैले परर्र ताली बजाएर समर्थन गरे । यो पवित्र खुसी हँसिलो खुसिलो दिन हो । सबैको कल्याण होस् भन्दै कार्यक्रमका अध्यक्ष शर्माले भन्नुभयो ‘चोखो कमाईले बाँच बुद्धको मुल सन्देश हो’ उहाँले थप्नुभयो ‘हामी गलत ढंगको कमाईबाट खुशी हुन चाहन्छौँ ।’ उहाँले इमान्दार बन्न सके सबै हुने भावना व्यक्त गर्नुभयो ।

बुद्ध नेपालमा जन्मेका हुन् । हामीलाई गौरब छ । संसारले बुद्धलाई मानेको छ बुद्ध संसारका हुन् । शान्तिसित बोल्नु पाम, शान्तिसित जिउन पाम भन्नका लागि शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव हो । यति भन्दै शर्माले मन्तव्य टुंग्याउनुभयो । फेरि सहभागीले गड्गडाहट ताली दिए ।
सहायक प्राचार्य मेघराज ज्ञवालीले भन्नुभयो ‘सिलिपिङ ट्याब्लेट खाएर सुत्नुहुन्छ भने तपाईंलाई निद्रा लाग्छ’ उहाँले थप्नुभयो, ‘अहिले १० मिनेटको आनापानमा पनि मन फुत्तफुत्त भाग्यो होला, त्यसरी भाग्न नदिने हो भने धेरै फाइदा छ । साना साना बच्चाहरुले पनि गरेको देखेको छु ।

उनीहरुले गरेभने पढ्नमा तेज हुन्छ । चकचके बानी सुध्रिन्छ ।’ यसपछि पतञ्जली योग लुम्बिनी प्रदेश अध्यक्ष प्रेम शाह, ब्रह्मकुमारी राजयोगी गिता दिदी, गुरुकुलका अध्यक्ष इ. अनन्तराज घिमिरे लगायतले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभयो । यसलाई व्यापक बनाउने भन्दै सबैजना सहमत भए । यो नौलो र अनौठो कार्यक्रम थियो ।