काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आईतबार छलफल भएको छ ।
ईहाजिरी सुरु गर्ने र सांसदको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे आईतबार भएको छलफलमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको भन्दै सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको उल्लेख गरेका हुन् ।
उनले राजनीतिक दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदै संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देशन दिएका छन् । त्यसैगरी संसद नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने र कानून मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गर्ने कुरा पनि सभामुख घिमिरेले जानकारी दिएका थिए ।
बैठकमा सभामुख घिमिरेले सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई लिएर कानून मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउर्नेमा पनि छलफलमा जोड दिएका थिए ।