• आश्विन १४ २०८१, सोमबार

विजय हितानको उपन्यास “लाहुरेको रेलिमाई” सार्वजनिक

बैशाख २४ २०८०, आईतवार

काठमाडौं । वरिष्ठ लेखक तथा साहित्यकार विजय हितानद्धारा लिखित उपन्यास “लाहुरेको रेलिमाई”को सार्वजनिक भएको छ । काठमाडौं बत्तीसपुतलीस्थित शिल्पी थिइटरमा आयोजित समारोहमा मास्टर मित्र सेनको जीवनीमा आधारित उक्त उपन्यासमा समालोचक प्रा‍. डा गोविन्द भट्टराई ,नेपाल चलचित्र तथा संगीतविज्ञ प्रकाश शायमी र कवयित्री बिमला तुमखेवाले लोकार्पण गरेका हुन् ।

मास्टर मित्रसेन (१८९५ डिसेम्बर २९–१९४६ अप्रील ६) नेपाली संगीत क्षेत्रमा लोकगायक, कवि, नाटककार, निबन्धकार, गीतकार र संगीतकारका रूपमा चिनिन्छन् । उनै मित्रसेनले गाएका ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..’ गीतलाई नेपाली समुदायमाझ चर्चित छ । त्यही गीतको बोललाई लिएर साहित्यकार हितानले ‘लाहुरेको रेलिमाई’ उपन्यासको रचना गरेका हुन् ।

मित्रसेन १/१ गोर्खा राइफलका सैनिक थिए । प्रथम विश्वयुद्ध लड्न उनलाई उत्तरी फ्रान्स अनि मेसोपोटामिया (इराक र सिरिया) लगिएका थिए । युद्ध रोकिएपछि निवृत्त भएर उनले नेपाली संगीत, साहित्य र समाजसेवामा बाँकी जीवन समर्पित गर्दै भारत र नेपालका विभिन्न स्थानमा पुगेका थिए । उनको योगदानलाई लिएर भारत सरकारले ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो । यसैगरी नेपाल सरकारले समेत ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो ।

लेखक हितानले एकजना अफिर बहादुर सिंह बराल र सिपाही मास्टर मित्र सेनको सम्बन्धको विषयमा चर्चा गरे । उनले आफ्नो यस उपन्यासको प्रकाशनले युद्ध जितेर विजयउत्सब मनाएको महसुस भएको बताए। यस उपन्यासको सुरुवात उनले २०१५ सालदेखि बेलायत समाधिस्थलदेखि फान्स लगायत अन्य देशबाट सहायता लिएको बताए।

मास्टर मित्रसेनको जन्मस्थानबारे लेखक र इतिहासकारबीच भिन्न मत हुने गरेको पाइन्छ । सन् १९९९ नोभेम्बर २० मा रु. १ को मास्टर मित्रसेन चित्र अङ्कित संस्मरणात्मक हुलाक टिकट प्रकाशित भयो । यसमा उल्लेख गरिएअनुसार उनको खास नाम मित्रसेन सिञ्जाली थापा मगर र जन्ममिति २९ डिसेम्बर १८९५ हो । भारतको हिमाञ्चल प्रदेशको काँगडास्थित भाग्सु छाउनी धारा खोलानेरको धर्मशालामा उनको जन्म भएको हो । नेपाल सरकारले हुलाक टिकट जारी गरेपछि भारत सरकारले पनि सन् २००१ अक्टोबर ९ मा रु. ४ को हुलाक टिकट प्रकाशनमा मात्र ल्याएन कि मित्रसेन मार्ग, मित्रसेन विद्यालयजस्ता भौतिक संरचनाको नामकरणसमेत गरेको थियो ।

समालोचक प्रा‍.डा गोविन्द भट्टराईले लेखक हितानसंग डेढ दशकको भेटमा विभिन्न विधामा १२ वटा पुस्तक प्रकाशन गरेकोमा खुसी महसुस गर्दै हितानलाई नयाँ मित्र सेनको संज्ञा दिए । उनले सो पुस्तकमा गोर्खालीहरुको जीवनयापनलाई समेटिएको,दुःख,कष्ट र विभिन्न भोगाईलाई हजार भन्दा बढी लाहुरेको शब्द प्रयोग गरेको पनि बताए । साथै प्राध्यापक भट्टराईले हितानलाई विभिन्न ठेट शब्दको अर्थ  पनि अध्याय बनाई प्रष्ट खुलाउन सुझाव दिए ।

समारोहमा कवयित्री तुम्खेवाले मित्र सेनको जीवनी आफ्ना बुवाको जीवनीसंग धेरै मिल्दोजुल्दो रहेको बताइन् । उनले मास्टर मित्र सेनले आफ्नो श्रीमतीसँगको छुट्ने क्षणलाई हृदयस्पर्श तरिकाले लेखकले कोरेको शब्देले उनलाई भावुक बनायो । उनले सो उपन्यासमा महिला पात्रको भूमिकामा सहमति नभई लाहुरे पल्टन फर्के पछिको सम्पूर्ण घर व्यवहार एउटी महिलाले धान्ने भएकीले लेखकमार्फत महिलाको उक्त जिम्मेवारीबोधलाई अझ खुलाए राम्रो हुने धारणा राखिन् । उनले चेलीबेटी बेचबिखनमा मुख्य हात लाहुरेको नभई समग्र राज्यको समस्या भएको बताइन् ।

त्यसै गरी अर्का समालोचक तथा नेपाल चलचित्र तथा संगीतविज्ञ प्रकाश शायमीले जुद्ध शमसेरको पालामा एउटा मोहनवानी नामक वायरलेस रेडियोमा मास्टर मित्र सेनको गीत प्रस्तुत गरिएको इतिहास स्मरण गर्दै उनको गीतमा नेपाली भाषा र गीतमा लगाब देखिएको बताए । साथै उनले मास्टर मित्र सेनको पालादेखि नै दुयट गीत गाउन सुरु गरिएको बताए ।