• मंसिर २० २०८१, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरण फासफुस नहोस्

बैशाख २४ २०८०, आईतवार

अमेरिकाको सपना देखाएर नक्कली भुटानी शरणार्थीको नाममा अहिले प्रहरी अनुसन्धानको क्रममा छ । अनुसन्धानका क्रममा पक्राउ परेका बयान र प्रमाणका आधारमा प्रहरीले धमाधम सो प्रकरणमा मुछिएकाहरुलाई पक्राउ पुर्जी काट्न थालेको छ ।

सो प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री र गृहसचिवको नाम आएपछि यतिखेर नेपाली राजनीतिमा तरंग देखा परेको छ । सो काण्डमा संलग्न भएका मुख्य आरोपिकै मुखबाट पूर्वमन्त्री तथा गृहमन्त्रालयका तत्कालीन सचिवको नाम समेत सार्वजनिक भएपछि सो घटना दबाउन राजनीतिक नेतृत्वबाटै दबाब सिर्जना भएर कतै सो घटना सामसुम हुने त होइन भन्ने भय पनि छ । नक्कली भुटानी शरणार्थी काण्डमा हालसम्म २० वटा जाहेरी अनुसार २३ करोड २५ लाख रुपैयाँ ठगी भएको तथ्य प्रहरीले बाहिर ल्याइसकेको छ । प्रहरीले सो प्रकरणमा अनुसन्धान गरेर संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिरहेको छ ।

प्रहरीले ‘प्रमाणका आधारमा’ पूर्वगृह सचिव, पूर्वगृहमन्त्रीका सल्लाहकारलगायतलाई पक्रेको छ । थप प्रमाण सङ्कलन भएपछि अरू पनि तानिन सक्नेछन् । प्रहरीले सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको छोरालाई पक्राउ गरिसकेको छ । टोपबहादुरबिरुद्ध पनि पक्राउ पूर्जी जारी भएपनि उनी हालसम्म प्रहरी सम्पर्कमा छैनन् । एमाले सचिव समेत रहेका रायमाझीका विषयमा प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटकसम्म भेटिसकेका छन् । घटनालाई सामसुम बनाउन होइन खुल्ला अनुसन्धान गर्न एमालेले पनि  सहयोग गर्नुपर्छ साथै सत्तारुढ दल निकटका नेता बालकृष्ण खाँण लगायतकाे नाम सार्वजनिक भएकाले प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिने वातावरण बनाउनु पर्छ ।

अभियोग लाग्दैमा अदालतले दोषी ठहर नगरेसम्म जो कोही व्यक्ति अपराधी हुँदैन । तर, अभियोग लागेपछि कानुनी प्रक्रिया पूरा गर्न दिनुपर्छ मात्र होइन, यस्तो संगीन अपराधमा संलग्न भएकाहरूलाई कारबाहीको दायरामा ल्याउन नेताहरूले प्रहरीको अनुसन्धानमा सहयोग गर्नुपर्छ । ओलीले उनको पार्टीका मान्छेलाई समातेकोमा ‘षड्यन्त्रपूर्वक’ भनेका छन् । हिजो वाइडबडी, ३३ किलो सुन, ओम्नी, यति काण्ड यस्तै राजनीतिक संरक्षण र आडका भरमा ‘फासफुस’ पार्ने काम भए । तर, यो प्रकरण यति गम्भीर बनेको छ कि यसले आम नेपालीबीच मात्र होइन अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेको छ ।

यो प्रकरणमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने कारण देखाएर ‘हाइप्रोफाइल’ भनिएका नेताहरुविरुद्ध मुद्दा नचलाउन पनि सक्ने भय पनि उत्तिकै छ । किन कि यो प्रकरणमा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम पनि पक्राउ परेकाहरुले बयानमा दिएकाले कतै नेताहरुलाई नजोगाउलान् भन्न सकिन्न ।

ठगीमा संलग्न अभियुक्तमध्ये केहीको सत्तारूढ नेपाली कांग्रेसका नेतासँग पनि निकटता रहेको बताइएको छ । तैपनि, प्रहरीले भने कारबाही अगाडि बढाएको देख्दा दोषीले उन्मुक्ति नपाउने आशा बढेको हो । यसैले नेपाल प्रहरीले दबाब परे पनि अपराधी नछाडोस् । विधिको शासन कायम गर्नु राज्यप्रतिको जनविश्वास हो । विधिको शासन र सत्यतथ्यको आधारमा ठगी गर्ने गिरोहलाई कानुनी दायरमा ल्याएर कठघरामा उभ्याउँदा राज्य संयन्त्रप्रतिको जन विश्वास बढ्नेछ । जनतामा सरकारप्रति र राज्यको संयन्त्रप्रति भरोसा बढ्नेछ । त्यसैले शुसासनको नाम मात्रै भजाउने भन्दा पनि कानुनी शासन छ भन्ने प्रत्याभुती कायम गर्न सके राज्यप्रति नागरिक सकारात्मक बन्नेछन् ।