• असार ४ २०८२, बुधबार

सत्ता गठबन्धनको बैठकमा नक्कली शरणार्थीका बारेमा छलफल भएन

बैशाख २३ २०८०, शनिबार

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकमा संसदमा प्रस्तुत गरिने आउँदो वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आइतबार (भोलि)देखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । संसद् बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा पनि छलफल भएको उनले बताए ।

उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा समेत छलफल भएको जानकारी दिए । ‘सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठक थियो, भोलिबाट संघीय संसद्को बैठक चल्दै छ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा छलफल भयो ।

भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो,’ उनले भने, ‘अब व्यवस्थित रूपमा भोलि सदन सुरु गरेपछि कार्यक्रम अघि बढाउनेछौँ । विश्वासको मत लिने आवश्यकता छैन । विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भयो ।’

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए । उनले बैठकमा संसद्का विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको जानकारी दिए ।