काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । शनिबार साँझ प्रधानमन्त्री निवासमा बैठक सुरू भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले बताए ।
बैठकमा समसमायिक राजनीतिक विषयबारेमा छलफल हुने बताइएको छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।
उनीहरूबीच झन्डै २ घण्टा छलफल भएको थियो । त्यस छलफलमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगी गरेको घटनाबारे छलफल भएको थियो । एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझी यस प्रकरणमा मुछिएपछि ओलीले यसबारे चासो राखेका हुन् । रायमाझीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । हाल रायमाझी फरार छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । रास्वपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुपर्ने नपर्ने विषयबारे पनि प्रश्न उब्जिएको छ ।