• असार ४ २०८२, बुधबार

प्रचण्डसँग बाबुराम-विप्लव नजिक : एकताका लागि माओवादी केन्द्र र नेसपा तयार, नेकपा असमर्थ

बैशाख २३ २०८०, शनिबार

काठमाडौं । १० वर्षे सशस्त्र संघर्षबाट उदायको माओवादी शान्ति प्रक्रियामा आए पश्चात् विभाजनको सिकार बन्न पुग्यो । एउटै दल २०६२/०६३ यता झन्डै आधा दर्जन बढी दलमा विभाजित छ ।

प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेतृत्वको नेकपा (माओवादी केन्द्र), डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) लगायतका केही दल आजसम्म पनि ध्रुवीकरण हुन सकेका छैनन् ।

तत्कालीन माओवादी पुष्ठभूमिबाट विभाजित दलका शीर्ष नेताहरू आज पनि ध्रुवीकरणको पक्षमा देखिएका छैन । यद्यपि पछिल्लो समय केही नेताहरू आमुनेसामुने भएका छन् । उनीहरूका आ–आफ्नै सिद्धान्त भए पनि दलगत एकता गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग डा.बाबुराम भट्टराई र विप्लव नजिकिएका छन् । उनीहरूबीच आपसी छलफल भइरहेको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा बताउँछन् ।

महराका अनुसार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा.भट्टराई नेतृत्वको नेसपाबीच एकताबारे सघन छलफल भइरहेको छ । तर, विप्लवसँग पार्टी एकताभन्दा पनि विगतका वार्ताबारे छलफल भइरहेको छ ।

यसअघि विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमतिसहित वार्ता भएको थियो । जसअन्तर्गत आफ्ना नेता तथा कार्यकर्तालाई रिहाइ गर्नूपर्ने नेकपाको सहमति शर्त थियो । उक्त शर्त हालसम्म कार्यान्वयन नभएको भन्दै विप्लव प्रायः प्रचण्डसँग छलफल गर्ने गरेका छन् । उनले देउवा सरकारमा हुँदा पनि सो सहमति कार्यान्वयनमा विलम्ब भएको भन्दै भेटवार्ता गरेका थिए ।

प्रचण्डसँगको वार्तामा विप्लवले पार्टी एकताभन्दा पनि समाजवादी मोर्चा बनाउनु पर्नेमा जोड दिएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कुलप्रसाद केसी बताउँछन् । दलगत एकताका लागि प्रचण्डले प्रस्ताव गरे पनि विप्लव तयार नभएको केसी बताउँछन्, ‘अध्यक्ष कमरेडले उहाँ (विप्लव)लाई पार्टी एकताका लागि प्रस्ताव नगर्नु भएको होइन । तर, उहाँ तत्काल एकताका लागि तयार हुनु भएन । बरू उहाँले संक्रमणकालीन राजनीतिक अवस्थालाई मध्येनजर राख्दै समाजवादी मोर्चा बनाउने भन्नेमा जोड दिनु भएको छ । त्यसमा अध्यक्ष कमरेड पनि सहमत हुनुहुन्छ । यसका लागि हामी होमवर्क गर्दैछौँ ।’

त्यस्तै पार्टीका अर्का स्थायी कमिटी सदस्य शशी श्रेष्ठका अनुसार विप्लव पछिल्लो समय प्रचण्डसँग नजिकिँदै गएको बताउँछन् । यसअघि सम्माननीय प्रधानमन्त्रीज्यू माथिको मुद्दा र टिआरसी विधेयकबारे सतहमा आएको विवादले प्रचण्ड र विप्लव नजिकिएको उनको तर्क छ ।
गोल खबरसँगको संक्षिप्त संवादमा श्रेष्ठले विप्लव प्रचण्डसँग नजिकिनुको कारण विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन र समाजवादी मोर्चा गठन गर्नुपर्ने भएको बताउँछन् । तर, पार्टी एकताबारे विप्लव तयार छैनन् । नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि श्रेष्ठको भनाइमा सहमत देखिन्छन् ।

उनी भन्छन्, पछिल्लो समय माओवादीमाथि भएको चौतर्फी हमलाको प्रतिकार गर्नैपर्छ जसका लागि हामीले समाजवादी मार्चा गठन गर्न जरुरी छ । उक्त मोर्चामार्फत हामी प्रतिक्रियावादीसँग लड्न सक्छौँ । यसका साथै सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्छ । यसमा हाम्रो विशेष जोड रहनेछ । तर, हामी माओवादी केन्द्रसँग पार्टी एकता गर्न तयार छैनोँ ।

प्रचण्ड र विप्लवबीच कार्यगत वा मोर्चाबन्दी हुनसक्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । यद्यपि दलगत एकताको हकमा भने विप्लवले चाहेमा मात्रै हुनसक्ने उनको तर्क छ ।

श्रेष्ठ भन्छन्, ‘पूर्वमाओवादी खेमाहरू सकेसम्म एकै ठाउँमा आउन जरुरी छ । माओवादीमाथि देशी, विदेशी शक्तिहरूले आक्रमण गरिरहेको बेला दलगत एकता गर्नु आवश्यक छ । क्षणिकका लागि सत्ता, मोर्चा र कार्यगत एकता गर्नु उचित होइन ।’

समाजवादी मोर्चाका लागि माओवादी केन्द्रसँग सहकार्य गर्न नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)नेपाल तयार छन् । यी दुवै दलका शीर्ष नेताले तत्काल समाजवादी मोर्चाबन्दी गर्नुपर्ने बताउँदै आएका छन् । तर, माओवादी केन्द्रले सत्ताको बागडोर सम्हाल्नु परेकोले यो मोर्चा बन्न सकेको छैन ।

मोर्चाका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा र नेकपा तयार भएका छन् । यसका लागि आन्तरिक गृहकार्य भइरहको यी दलहरू बताउँछन् ।