• असार २२ २०८१, शुक्रबार

जीवन शर्मा र मणि थापा नेतृत्वको सांगीतिक अभियानले जुरायो जनकलाकारहरुको भेट

बैशाख २३ २०८०, शनिबार

घोराही । समापनसंगै बाहिरिनेहरु ढोका ढोकामा घुइँचो लाग्दा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले मञ्चतिर लाइन सोझ्याए । उनीहरु सबैका हात हातमा कोशेली थियो । सो क्षणले जनयुद्धकालमा मोर्चामा जान लागेका जनमुक्ति सेनालाई जनताले विदाई गर्दाको क्षण स्मरण गराउँथ्यो । यो सकृयता कार्यक्रम शुरु हुनुभन्दा करीब एक घण्टा अघिदेखि नै घोराही-१४ को बृहत सभाहलमा देखिन्थ्यो ।

माइक चेक गर्ने, तिनका लरा मिलाउने, भित्रिने अतिथिहरुको बसाई व्यवस्थापन गर्नेकाम फटाफट गरे । कार्यक्रम शुरु भएपछि हलका कुर्सीहरु भरिए । आउने क्रम रोकिएन, कुर्सी बोकेर हलमा ल्याउने काममा पनि उनै देखिए । सकभर कसैको बसाई असुविधा हुन नदिनेमा चनाखा थिए । त्यसैगरी कति आए वा आएनन् भन्ने कुराको पनि ख्याल गरिरहे । केहिदिन अघि देखिनै एक थरी मानिसको अड्कल थियो, हलभरी मानिस हुँदैनन् । लाजमर्दो हुन्छ कि ? कलाकारलाई दर्शक नभएपछि खल्लो हुन्छ । कार्यक्रम शुरु हुनु ठिक अघि बसमा मानिसहरु आए । विभिन्न ठाउँबाट नेकपाका कार्यकर्ताहरुलाई बसमा ओसारिएको रहेछ ।

उनीहरु अनुशासबद्ध एकै ठाउँ फर्मेशन मिलाएर बसे । तिनका अगुवाहरुले हाम्रो क्षेत्रका साथीहरु यता बसौँ है भन्दै थिए । यसको मतलब पार्टी कार्यकर्ताहरुले जनयुद्धकालिन फर्मेसन त्यागेका थिएनन् । ब्यानर टाँग्न मशालका नेताहरु पुगेको थाहा भयो । उनीहरुलाई अतिथि आषणमा पनि महत्व दिइएको थियो । त्यसले गर्दा पनि भर्खरै राष्ट्रिय जनमोर्चा त्यागेका मशालका कार्यकर्ता उत्साहका साथ लागेका देखिन्थे । उनीहरु नेपाल कम्युनिष्ट पार्टीका भन्दा संख्यामा तुलनात्मक कम देखिन्थे ।

यसरी सत्ता बाहिरका दुई पार्टी अग्रसर हुनुमा चित्त बुझेको विषय थियो । अहिलेको अवस्थाप्रति अरुचि देखाउनेहरु उत्साहित थिए तर, सत्ता र सरकार विरोधी गतिविधिमा रमाउने आदतै बस्यो भने खतरा हुन्छ । सत्तामा पुग्नै नचाहने हो भने पनि राजनीति गर्नुको अर्थ हुँदैन । यहि अवस्थामा सत्तामा जान्न भन्नु राम्रो भएको बेला खोज्नु हो । अर्काले बनाइदिएको राम्रोमा जानु बहादुरी होइन । बिग्रेको बखत सम्हालेर सपार्नु महान हो । एकैजनाले भएपनि उदाहरण बनेर देखाउनु आजको आवस्यकता हो ।

विरोधमै रमाउन हुन्न । ‘राष्ट्रका लागि सङ्गीत अभियान’ लिएर गत चैत १० गते टोली बहुउद्देशीय सभागृह घोराही-१४ मा आएको थियो । त्यसमा कलाकारहरु जीवन शर्मा, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, चिरन पुन, निलिमा पुन, प्रगति महरा, उदय रिजाल, लक्ष्मी पाख्रिन, नारायण शर्मा, कविता पुन, अनु शर्मा, सन्ध्या मगर लगायतका वामपन्थी कलाकारको टिम थियो ।

वामन्थीहरुले आफूलाई जनकलाकार भन्छन् । यो यात्रा चैत ४ गते धनगढीबाट शुरु भई बैशाख ५ गते काठमाडांैमा समापन हुने आयोजक टिमले जनाएको छ । अब हुनपर्ने शुखशान्ति समानता हो भन्न त सकिन्छ । त्यता जाने उपाए अवलम्बन गर्न पनि कठिन छ । त्यहि समस्याबाट अघि बढेकै कारण कलाकारहरु पञ्चायत र राजतन्त्रकालिन गीत गाए । तिनै गीतमा बढि उत्साहित भएर संगठित ढंगले पार्टीहरु लागेको पाइयो ।

समस्याहरुका पोका फुर्काइए । अवस्थाका बारेमा र व्यवसस्थाका सवालमा कुरा भए । ‘यो पुस्ता पछि जनवादी गायक को हुने ?’ सञ्चालक कलाकार चिरनले प्रश्न गर्नुभयो, ‘कसले गाउने जनवादी गीत ?’ उहाँले अभियानका क्रममा यो प्रश्न गर्दैछौँ भन्नुभयो । उहाँले क्रान्तिकारी आन्दोलन र कम्युनिष्ट पार्टीहरुलाई प्रश्न गरिरहँदा भने हल सुनसान शान्त बन्यो । सबैको मथिंगलमा डेगमा चर्को चर्को मायाप्रेमका गीत घन्किरहेको हुनुपर्छ ।

विद्यालयका वार्षिक उत्सवमा होस् वा अन्य शुभ कार्यमा उही गीत बज्छन् । को कम्युनिष्ट, को कांग्रेस भन्ने गीत छैनन् । शुभकार्यमा बजेका गीतका आधारमा क्रान्तिकारी पार्टीको परिचय दिने समय छैन । आफ्नो वाद्यवादनको कला र नृत्यको प्रतिभा हराउँदै गएको छ । समाज भाइरल गीतमा छ । ‘सरकार र पार्टी चलेका छन्’ पूर्वमन्त्री मणि थापाले भन्नुभयो, ‘आधारभूत वर्ग सन्तुष्ट छैन । आर्थिक साँस्कृतिक परिवर्तन आएको छैन ।’

उहाँले यसरी सत्य कुरा बोलिरहँदा पनि पछाडि ठिंग उभिएका सुरक्षाकर्मीले भद्धा बनाएको थियो । उहाँको बोलि र व्यवहारमा एकरुपता मञ्चमै देखिन्नथ्यो । दर्शक दिर्घाबाट धेरैले जनकलाकारको सरकारी सुरक्षाकर्मी भनेर खासखुस गरेका थिए । उहाँले जनता सार्वभौम बनिसकेका छैनन् भन्नु भो । आफू पूर्वमन्त्री हुँदा पनि सुविधा त्याग्न सक्नुभएको छैन । बहालवाला मन्त्री र सरकारलाई आलोचना गरेको सुहाएको थिएन ।

‘चार वर्ष जनमुक्ति सेना थिएँ । त्यही बिचमा पनि गीत गाएँ । मैले गुनगुनाउन शुरु गरेको २०/२५ वर्ष भयो । बिचमा गाउन छोडेँ । त्यसमा केही बाध्यता थिए ।’ यति भनेर मोहित श्रेष्ठको आवाज अड्कियो । मुन्टो आकाशतिर फर्काएर बाल्कोनितिरका दर्शकतिर केही खोजेजस्तै गरि हेर्दै थप्नुभयो, ‘कोही समिक्षकले खोजी गर्लान् । मेरी आमा आउनु भएको छ उहाँले गीत सुन्दै हुनुहुन्छ । उहाँ सुत्दा मेरो गीत गाउनु हुन्छ रे, मेरो भाइको छोरी गीत सुनाएपछि मात्रै सुत्ने रहेछ ।’

अघि भावुक हुनुको कारण बल्ल खुल्यो आमालाई खोज्नुभएको रहेछ । उहाँको आमा तल्लो हलको सबैभन्दा पछाडि कुनामा नदेखिने ठाउँमा बस्नुभएको रहेछ । सञ्चालक चिरनले श्रेष्ठबाट माइक तानेर कहाँ हुनुहुन्छ आमा भनेर तारन्तार कराएपछि उभिनुभयो । महान आमाको सत्कारमा तालिबजाएर सिङ्गै हलले माया अनि सम्मान दियो । त्यसपछि फेरि श्रेष्ठकै हातमा माइक आयो । उहाँ भन्दै जानुभयो । ‘जुन समयमा झोला बोकेर घरबाट निस्किएर गएँ, १० वर्षपछि त्यही झोला बोकेर फर्किएँ’ उहाँले थप्नुभयो, ‘म फर्किंदा केहिका चिल्ला गाडी भए । केहिका अग्ला महल भए । हामी जस्ता गयौं उस्तै फर्कियौं ।’ त्यसमा मात्रै रोकिनु भएन ।

आमाकै अगाडि श्रेष्ठले बयान गर्नुभयो, ‘तेरा फलाना फलाना यस्तो प्रगति गरेका छन्, तैंले के गरिस् ? मेरी आमाले भनेको भन्नुभयो । त्यही शब्दले म निदाउन सकेको छैन । म जस्ता धेरै जना निदाउन सक्नुभएको छैन’ यति भनिसक्दा केही मानिस घोप्टो परेका दृश्य देखियो । जनयुद्धमा लामो समय र महत्वपूणर् जवानी बिताएकाहरु भावुक भए । उहाँले भनिरहनुभयो ‘वर्गीय मुक्ति आन्दोलनबाट वर्गीय समाज अन्त गर्ने सोँच थियो । तर हामीले नयाँ वर्ग जन्माएका छौँ ।

यस्तो प्रायः अन्त भएको हुँदैन’ सहभागी धेरै घोप्टो परेर रुन थाले । हल पुरै भावुक भयो र चकमन्न सन्नाटा छायो । उहाँले बोलिरहँदा सबैभन्दा सामुन्ने पूर्वमन्त्री जयपुरी घर्ती आमन्त्रित अतिथिको दिर्घामा हुनुहुन्थ्यो । उहाँका सहयोद्धा घर्ती र थापाकै जीवनशैली र मोहितको मन्तव्यमा तालमेल मिलाउन सकिन्नथ्यो । अनि उपस्थित भावुक शहिद व्यपत्ता परिवारलाई सम्हाल्न चिरन फेरि अघि सर्नुभयो । ‘यस्तो सुन्दर गीत गाउने जनताको मान्छे जन्माउनुभएको छ । हामी भन्दा गरीब धेरै छन् आमा । भारी बोकेर गिट्टी कुटेर गुजारा गर्ने पाल र पुल मुनि सुत्नेमान्छे धेरै छन् ।

उनीहरु भन्दा त हामी केही छौँ खुसी हुनुस् ।’ यसले घाउमा मलम पट्टीको काम गरेको हुनुपर्छ । अघि घोप्टो परेकाहरुले आँसु पुच्छदै, राताराता आँखा बनाएर मञ्चतर्फ ध्यान केन्द्रित गरे । शुरुवातमै अतिथि, अध्यक्षता वा प्रमुख अतिथि कसैलाई भनेका छैनौं भनिएको थियो । भारी भर्कम भन्दा यो नौलो थियो । आमन्त्रित महानुभावका लागि अगाडिको दुई रोह छोडिदिन पटक पटक आग्रह गरिएको थियो । औपचारीक कार्यक्रम शुरु पश्चात पहिलो आमन्त्रित अतिथि व्यपत्ता परिवार समाजका रामबहादुर थापा, शहिद परिवार समाजका जयपुरी घर्तीको नाम आयो । त्यसपछि पार्टीका केन्द्र र जिल्ला नेतृत्वको नाम सुनाइयो ।

यसले क्रान्ति केन्द्रित कार्यक्रम भएको सन्देश दिन्थ्यो । जनयुद्धलाई महत्व दिएको भनेर बुझ्न सजिलो लाग्थ्यो । यद्यपी वामपन्थी कलाकार थिए । माओवादी पृष्ठभूमिका सबै कलाकार थिएनन् । कसैलाई पनि मञ्चमा उकालिएन । ठूलो मान्छे भनेर पदलाई विरामान गराइएको थिएन । यसले समाजवादी भन्न सकिन्थ्यो । पद तथा हैसियत तल माथिको हिसाब गर्नेहरु पुँजीवादी मानिन्छन् । जीवन शर्माले आफ्ना गीतले मागेका पात्र बालक र बृद्ध दुवैलाई मञ्चमा लगेर नचाउनुभयो । आफू भने दर्शक दिर्घातर्फ लाग्नुभयो ।

दर्शकहरु आफ्नो आषणबाट उठेर सेल्फी खिच्न थाले । सिंगै हल उत्तेजित भयो । रोमाञ्चित बन्यो । सबका सबलाई आकर्षण गर्न सफल हुनुभयो । कतिपय कलाकार सिमीको ठ्याँक्रो जस्तो हलचल नगरी उभिन्छन् र दर्शकलाई चिन्न सक्दैनन् । ताली ताली भनेर मागिरहन्छन् र पनि तिनले पाउँदैनन् । शर्माले असाध्यै माया बटल्नु भयो । नारायण शर्माले गीतबाट नृत्य मात्रै होइन अभियनय गर्न सकिन्छ भन्ने देखाउनु भयो । कणर् विद्रोहीले टुटफुट नहुन सन्देश दिने गीत र जातीय समानताले निकै आकर्षण पैदा गर्नुभयो ।

धेरै गीत, थोरै नाचले पनि दर्शकहरुलाई झण्डै चार घण्टा दर्शक अडिए । नेतालाई जनतातर्फ फर्केऊ र जनतालाई नेतालाई दबाब देऊ भन्ने सन्देश चित्त बुझ्दो थियो । अहिलेको सत्ताको अवस्था र थप विकासका बारेमा बहस चलाउन अति जरुरी छ । विगतलाई सम्झिएर बिलौनाबाट मात्रै परिवर्तन सम्भव छैन । त्यसले आक्रोश, कुण्ठा र वितृष्णा मात्रै पैदा गर्न सक्छ । गुनासो गर्न जति सजिलो हुन्छ काम गरेर देखाउन त्यति सजिलो छैन । यो अभियानले कम्युनिष्टलाई नफुट भन्ने सन्देश दिएको छ ।

क्रान्तिकारी वामपन्थी आन्दोलनप्रतिको जनभरोसा टुटेको छैन भन्ने सहभागीले सन्देश दिएका छन् । उनीहरुलाई मिठा कुराले मात्रै फकाउन सकिन्न । व्यवहार परिवर्तन गराउने ढाँचा दिनैपर्छ । त्यसका लागि जे बोलिन्छ। त्यो गर्ने र जे गरिन्छ त्यति बोलनु पर्छ । अब कुरा बिक्दैनन् काम हेरेर मात्रै पत्याउँछन् । सांगितीक अभियात्रामा सकृयता देखाउने नेपाल कम्युनिष्ट पार्टी व्यवहार देखाउने बेला आएको छ । त्यहाँ देखिएको जस्तै सकृयता हरेक क्षणमा देखाई उदाहरण बन्नुपर्छ ।