काठमाडौं । मध्य युरोपेली राष्ट्र सर्बियामा लगातार दुईपटक बन्दुक हिंसाको घटना सार्वजनिक भएको छ । त्यहाँ दुई दिनमा दोस्रोपटक अन्धाधुन्ध गोलाबारी भएको रोयटर्सले जनाएको छ ।
यसै हप्ताको बुधबार अर्थात् मे ३ मा मात्र राजधानी बेलग्रेडको एक विद्यालयमा सात कक्षामा बढ्ने १४ वर्षे किशोरले विद्यालयमा गोली चलाउँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ बालबालिका घाइते भएका थिए ।
घटनाको ४८ घण्टाभन्दा कम समयमा बिहीबार फेरि सर्बियाको म्लादेनोभाक शहरमा एक आक्रमणकारीले सडकमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । यस क्रममा ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । यतिबेला प्रहरीले आक्रमणकारीको खोजी कार्य सुरु गरेको छ ।
सर्बियामा गोलीकाण्डका घटना विरलै हुन्छन् किनभने त्यहाँ बन्दुकसम्बन्धी कडा कानुन छन् । यसअघि सन् २०१३ मा सो देशमा एक पूर्वसेनाले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको मृत्यु भएको थियो । सन् १९९० को युद्ध र अन्दोलनपछि यहाँ हजारौँ अवैध बन्दुकहरू लुकाएर राखिएको आशंका छ ।
सर्बियामा गोलीकाण्डका घटना विरलै हुने भएता पनि यसपटक भने लगातार दुई दिन बन्दुक हिंसाको घटना सार्वजनिक भएपछि त्यहाँका मानिस त्रसित बनेका छन् ।