बेला प्रकाशनले ‘एक बागी (खगेन्द्र संग्रौलाको साधना र संघर्ष) २०७९ कार्तिकमा छापेको छ । उज्ज्वल प्रसाईंबाट लेखन तथा सम्पादन भएको यो पुस्तक ४७६ पेजको छ । मूल्य रु. ९४५ को यो पुस्तक प्रकाशनमा प्रत्युष वन्त, दीपक भेटवाल र संगीत श्रोताको महत्वपूर्ण भूमिका भएको लेखकको कथन छ । यो पुस्तकप्रति लेखक उज्ज्वल प्रसाईं जति जिम्मेवार छन्, संग्रौलाको पनि उत्तिकै छन् । किन कि लेखकले हरेक शिर्षक लेखेपछि संग्रौलालाई पढ्न दिएको र तिनको राय-सुझावलाई लेखकले मध्यनजर राखी परिष्कृत गरेको छनक पाइन्छ । साथै संग्रौलाले लेखक उज्ज्वललाई आत्मवृत्तान्त सुनाएका र आफ्ना लेख-साहित्यहरू उपलब्ध गराएको र स्रोतहरू पनि दिएका छन् ।
नेपालको राजनीतिक, साहित्यिक र बौद्धिक जगतमा परिचित खगेन्द्र संग्रौलाको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, किशोरकाल, युवाकाल, साहित्यिक र राजनीतिक ज्ञानको स्रोत, काठमाडौँ बसाइ, लमजुङ जिल्लाको खुदी र चुँदी, बन्दीपुर, दमौली अनि चितवनको भरतपुरहुँदै काठमाडौँमा पुनर्आगमनको व्याख्या छ । राजधानीबाट सामयिक राजनीतिक, साहित्यिक टीका-टिप्पणी र आफ्ना विचारहरू सम्प्रेषण गर्ने संग्रौलाले अनुवादका कार्यहरू पनि गरेका विवरणहरू पुस्तकमा छन् ।
यस पुस्तकबाट संग्रौलाको जीवनका धेरै कुराहरू ज्ञात हुन्छ । उनको विचार, धारणा र व्यावहारिक कुराहरू यथार्थ रूपले जान्न केही सहयोग पुग्छ । साथसाथै उनका कमी-कमजोरी र गल्तीहरू पनि त्यहाँ छिपेका छन् । जुन विषय तिनलाई मात्र थाहा हुन्छ जो उनको समीपमा थिए र उनलाई नियालिरहेछन् ।
इतिहासलाई यथार्थ रूपमा स्वीकार्नु, कमी-कमजोरीहरू हटाउन तयार हुनु, निस्वार्थ र इमान्दार रूपले प्रस्तुत हुनु भनेको प्रगतिशीलताको मूल आधार हो । समाज र संसारभरिका मानव समुदाय र यो विशाल र महान् धर्ती भनौँ प्रकृति अत्यन्त दुष्ट, भ्रष्ट, अपराधी, लुटेराहरूका वैचारिक र भौतिक रूपले पनि तिनको कब्जामा छन्, नियन्त्रणमा छन् । सशक्त वैचारिक र भौतिक हस्तक्षेप बिना विश्वका अति परिश्रमी वर्ग महिला, मजदुर, किसान तथा मेहनतकस वर्ग मुक्त हुने छैन ।
प्रकृति भनौँ धर्तीवादीहरूले पनि राज्यसत्ता नियन्त्रणमा लिन सक्ने छैन । तसर्थ धर्ती योद्धाहरू ( Planet Fighter ) हरेक विषयमा अचुक नीति निर्देशन गर्न र परिआउँदा जीवनमरणको मैदानमा ओर्लिन र सफलता हासिल गर्न सजग र सचेत बन्नु पर्छ । यसको लागि इतिहासको यथार्थता आत्मसात गर्नुपर्छ । व्यवहारबाट उठेका सैद्धान्तिक दार्शनिक अवधारणा र कार्यदिशा तय गर्नुपर्छ । कार्यकर्ता र नेतृत्वको दैनिक क्रियाकलापहरू क्रान्तिकारी छ वा गैरक्रान्तिकारी ? ठिक भए संरक्षण गर्दै जानु पर्छ तर गलत भए सुधार्न प्रयत्न गर्नुपर्छ, नसुध्रिए पन्छाउनु पर्छ । त्यहाँ निर्मम संघर्षहरू पनि हुनसक्छ जहाँ कुनै मोलाहिजाले स्थान पाउनुहुन्न । अब हामी मूल विषयवस्तुमा प्रवेश गरौँ ।
इतिहासमा महत्वपूर्ण काम कारबाही गर्दै आएका र प्रेरणादायी व्यवहारहरू प्रदर्शन गरेका व्यक्तित्वहरूलाई उत्थान र स्थापित गर्नु माक्र्सवादीहरूका परम कर्तव्य हुन् । साथसाथै इतिहासमा गलत र घातक प्रवृत्ति र चिन्तन बोकेका, व्यवहार गरेका मान्छेहरूलाई यथार्थ तथ्यहरू अगाडि राखेर तिनलाई नङ्ग्याउनु पनि उत्तिकै महत्वपूर्ण सवालहरू हुन् । यो कुराले समाजमा न्याय र सत्यको विजय हुन मद्दत पुग्छ त घातक प्रवृत्ति बोकेकाहरूलाई पतन तुल्याउन सहयोग हुन्छ ।
खगेन्द्र संग्रौलाले अघिपछि जे जस्तो कुरा गरे पनि आफ्नो ‘एक बागी (खगेन्द्र संग्रौलाको साधना र संघर्ष) मा एक ऐतिहासिक विषयमा उपरोक्त कुराको विरुद्धमा देखिन्छ । त्यो कसरी त भने उक्त पुस्तकको पेज १५८ मा कामरेड रोहितबारे संग्रौलाले भन्छन्, “रोहितले गम्भीर मुद्रा धारण गर्दै भने नेकपा मालेको रवैया त देखिरहनु नै भएको छ । न कार्यदिशा ठिक छ न गतिविधि राम्रा छन् । यिनले भ्रम मात्र सिर्जना गरेका छन् । यिनीहरूको भण्डाफोर गर्दै एउटा उपन्यास लेख्नुस् न । तपाईं त सिर्जनशील मान्छे, यसो एक दुई महिनामा लेखिहाल्नुहुन्छ । प्रकाशनको प्रबन्ध म मिलाउँला ।”
सधैँभरि नेताको लाइनबाट निर्देशित हुन इन्कार गर्ने खगेन्द्रले यसपाली पनि त्यसै गरे । (उही पेज) तर रूपलाल विश्वकर्माबारे चाहिँ संग्रौलाको कथन छ- “सर्वहारावादी कम्युनिष्ट लिगमा रूपलाल विश्वकर्माको नेतृत्वमा भएको नेपाल मजदुर किसान संगठनसँग एकता गर्नेबारे छलफल सुरु भएको हुन्छ । … आफैले स्वनाम साथी र रूपलालको भेट गराइदिएका थिए …” (पेज १६४) ।
पुस्तकको कैयौँ ठाउँमा जुगेडी संघर्षका नेता, दलित समुदायका नेता, न्यायको आवाज उठाउँदा निर्घात चुटाई खाएका इतिहासका योद्धा भनेर रूपलाललाई आदर्श नेताको रूपमा प्रस्तुत गरिएको छ । कांग्रेस पार्टी नजिकका इतिहासविद् डा. राजेन्द्रप्रसाद रेग्मीको दुहाई दिएर पनि रूपलाललाई एक महान् नेताको रूपमा भावहरू व्यक्त भएको छ ।
वास्तवमा का. रोहित र रूपलाल विश्वकर्माको हुन् त ? उनका यथार्थ कुराहरू कस्ता-कस्ता छन् त ?
“काठमाडौँ उपत्यकास्थित भक्तपुरका माक्र्सवादी नेता नारायणमान बिजुक्छे (कामरेड रोहित) एक आदर्श नेता हुन् । सन् १९८९ (वि.संं २०४५) मा भक्तपुरमा भूकम्प पीडित जनतालाई राज्यले राहत बाँड्ने क्रममा अनियमितता हुँदा जनआक्रोशको घानमा परेर कणर् हेजुको निधन भयो । त्यस घटनामा पञ्चायती सत्ताले थुप्रै सर्वसाधारण जनतालाई गिरप्mतार गरी ज्यान मुद्दा चलाउने षड्यन्त्र गर्यो ।
त्यो संकटपूर्ण घडीमा कामरेड रोहितले प्रहरी प्रशासन र अदालतमाझ स्पष्ट भने, ‘मेरो नेतृत्वको ‘नेपाल मजदुर किसान संगठन’ को निणर्य अनुसार सरकारी अनियमितताको विरुद्धमा भएको विरोध प्रदर्शनमा एक व्यक्तिको मृत्यु हुन पुगेको हो । यसमा सर्वसाधारण जनताको कुनै दोष छैन । यदि यो मृत्यु प्रकरणमा दोषी नै देख्ने हो भने त्यसको नैतिक जिम्मेवारी म लिन्छु । तिमीहरूको कानुनी कारबाही मलाई गर ! सर्वसाधारण सम्पूणर् जनतालाई मुक्त गर ।’ त्यसपछि गिरफ्तार १०, १५ जना किसानहरू छोडिए र का. रोहित पञ्चायती सत्ताको कालकोठरीमा पुगे । बहुदलको आगमन लगत्तै उनी छुटे ।” (मनसुन- पृथ्वीको सुरक्षा कसरी हुन्छ ? मानव समाजमा शान्ति र सुव्यवस्था कसरी स्थापना हुन्छ ? पेज ३२-३३)
“तब न नेता ! कति उच्च नैतिकवान् ! नेपालको राजनैतिक इतिहास र कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि नैतिकताको यो स्तर भएको कुनै नेता देखिन्न । उनको पार्टीका कुनै पनि नेता र कार्यकर्ताहरू आजसम्म भ्रष्टाचारमा नमुछिनु का. रोहितको नेतृत्वको अर्को कीर्तिमान हो । स्मरण रहोस्, का. रोहितसँगै एकताका पार्टीको पूणर्कालीन भूमिगत भएका रुपलाल विश्वकर्मा सर्वहारावादी श्रमिक संगठनको अध्यक्ष हुँदा सन् १९८५ को जुलाईको मध्यतिर (वि.सं. २०४१ असार ३२ गते) गुल्मी जिल्लाको पूर्तिघाट बैंक संघर्ष भएको थियो ।
जुन घटनामा फणेन्द्र आचार्य, तारापति पौडेल र धनीराम चौधरी चर्को यातनासहित डाँका आरोपमा जेल परेका थिए । योद्धाहरूले खुकुरीको धारमा हिँडेर ५ लाख २० हजार बराबरको धन प्राप्त भएको थियो । त्यस्तो धन रुपलाल गुटले पूर्ण भ्रष्टाचार गर्यो । बुढी श्रीमतीलाई त्यागेर भारतको मध्यप्रदेशस्थित महुमा बैण्ड बाजा बजाएर, अझ अनमेल विवाह गरेर । त्यस्तो रगतले लतपतिएको धन पनि फुक्यो । उनले बैंक संघर्षलाई राजनीतिकरण पनि गरेनन्, पार्टीले जिम्मा लिएन र घटनालाई डकैत तुल्याए । वास्तविकतामा रुपलाल स्वयं नै डाँकाहरूभन्दा निकृष्ट थिए ।
तत्कालीन अवस्थामा भनौँ सन् १९८९ (वि.सं. २०४५) मा पार्टी लाइन स्पष्ट हुन, नेतृत्वमाथिको शंका निवारण गर्न र पूर्तिघाट बैंक संघर्षको हिसाब किताब देखाउन तत्कालीन केन्द्रीय लडाकु दलको अध्यक्ष तथा पूर्तिघाट बैंक संघर्षको कमाण्डर कामरेड उत्तमले पार्टीको सम्मेलन माग गरे । तर रुपलाल गुट र उनका पुच्छरहरू रुपलाललाई ढाकछोप गर्न र उत्तमलाई झुठा आरोपहरू लगाउन मात्र अभ्यस्त भयो ।
इतिहासमा ती कलंकित छन् र हुन्छन् जसले लासहरूलाई बोकी हिँड्छन् । उत्तमहरू त आज यस्तो पार्टी निर्माणमा जुटिरहेछन् जो सार्कभरि र संसारभरि पनि फैलन सक्छन् । मातृवाद उनीहरूको दर्शन हो । उनी हिजो सर्वहारावादी कम्युनिस्ट योद्धा थिए, आज उनी मातृवादी धर्तीयोद्धा Planet Fighter बनेका छन् । तिनले समाज र संसारमा के कति गर्लान् ? भविष्यले नै देखाउलान् ! बुझ्ने र समझदार मान्छेहरूका लागि वर्तमान मै केही त गरेकै छन् जसरी का. रोहितले भक्तपुर शहरमा प्रदर्शन गरेका छन् ।” (उही)
“कसैकसैले भन्न सक्छन्- का. रोहितको पार्टी देशभरि किन फैलिएन ? संसदमा बहुमत ल्याई सरकारको नेतृत्व किन गरेन त ? उनीहरूलाई भन्न सकिन्छ राष्ट्रव्यापी विस्तार भएका ठुला पार्टीहरू जसले सरकारमा पुगेर पटक पटक राज्यको नेतृत्व गरे, के तिनीहरू सफल छन् त ? भ्रष्टाचार, अत्याचार, अनियमित गरी अकुत धन सम्पत्ति जोडेर राष्ट्र र जनतालाई दुरुह र कंगाल तुल्याउनेहरू सफल हुन् त ? इतिहास र भावी सन्ततिले कस्को पथ अनुसरण गर्नेछन् ? का. रोहितको कि भ्रष्टाचारीहरूको ? एक मानेमा का. रोहित विजयी बन्नुभएको छ एक आदर्श बनेर ।” (मनसुन-पृथ्वीको सुरक्षा कसरी हुन्छ ? मानव समाजमा शान्ति र सुव्यवस्था कसरी स्थापना हुन्छ ? पेज ३२-३३)
रूपलाल र उनले नेतृत्व गरेको संगठनबारे यहाँ केही चर्चा गरौँ ।
सन् १९८१ को नोभेम्बर ७ मा पूर्व सर्वहारावादी कम्युनिष्ट लिग र नेपाल मजदुर किसान संगठनको बिचमा पार्टी एकता भएर सर्वहारावादी श्रमिक संगठन अति हतारोमा बनेको हो । वास्तवमा धैर्य बनी एक अर्को संगठनको विचार र व्यवहारहरू हेर्दै, सहकार्यहरू गर्दै अगाडि बढ्दै पार्टी एकता गरेको राम्रो हुन्थ्यो किन कि नेपाल मजदुर किसान संगठनको मूल नेतृत्व रूपलाल विश्वकर्माले जुगेडी संघर्ष र जुटपानी संघर्षको ब्याज खाएर मैदानी भेकको धनी किसान वर्गमा संगठन विस्तार गरेका थिए ।
रूपलाल जनै लगाएर ब्राह्मण बनी भूमिगत जीवन गुजार्दै थिए । उनी क्रान्तिकारी हुन् त पहाडका चेपाङ, मगर, गुरुङ, तामाङ जातिको बिचमा संगठन र संघर्षको विकास गर्दै जाने कार्यदिशा लिनु पथ्र्यो । अनि मैदानी भेकका धनी किसान, निम्न पुँजीपति वर्गलगायतलाई क्रान्तिको पक्षमा परिचालन गर्ने कार्यदिशा तय गर्नु पथ्र्यो । २०३४ असारमा जुगेडी संघर्षपछि उनी चितवन जिल्लाको पहाडमा एक पटक पनि गएनन् । २०३७ मा अर्को भोकमरी पर्दा जुटपानी संघर्ष उठाए । संघर्षको असफलता र नेतृत्वको गैरक्रान्तिकारी नीतिले त्यहाँको संगठन ओरालो लाग्दै गयो । २०४१-०४२ तिर त्यहाँको संगठन शून्यजस्तै थियो ।
वास्तवमा तत्कालीन सर्वहारावादी कम्युनिष्ट लिगका संस्थापक नेता अपत्य शर्माको ४० वर्षपछि पनि सटिक विश्लेषण छ- रूपलालको पार्टी कम्युनिष्ट थिएन र उनी कम्युनिष्ट चेतले सुसज्जित कम्युनिष्ट पनि हैनन्’ भन्ने भाव व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, “रूपलाल विश्वकर्माको संगठनसँग एकता गर्ने या नगर्ने भन्ने विवाद आयो । नगर्ने पक्षको तर्क थियो रूपलालजीहरूको नारामा गीताको कृष्णलाई आदर्श पुरुष मान्नुले आध्यात्मकतावादी चिन्तन देखिएकोले एकता अनुपयुक्त छ भन्ने रह्यो । एकता गर्ने पक्षमा स्वनाम साथी दृढ हुनुहुन्थ्योे ।
जहाँसम्म रूपलालजीको सङ्गठनको नाम नै कम्युनिष्ट नभएर पुँजीवादी ‘नेपाल मजदुर किसान सङ्गठन’ थियो । किन कम्युनिस्ट थिएन भने कम्युनिस्ट पार्टी भनेको जहिले पनि सर्वहारा वर्गको पार्टी हो भन्नेबारे कुनै द्विविधा हुनुहुँदैन । स्मरणीय छ, २०४७ सालपछि रूपलाल विश्वकर्मा नै कम्युनिस्ट दर्शन र कम्युनिस्ट आस्थालाई नै लत्याएर नेपालको दलाल नोकरशाही पुँजीति वर्गको पार्टीमा प्रवेश गरे । सर्वहारा वर्गको पक्षमा उभिनेले सिद्धान्तमा दृढ भएर उभिनु र अन्त्यसम्म पनि उभिरहनु नै विशेषता हो ।” (स्मृतिमा स्वनाम, पेज ३८) ।
स्मरण रहोस्, सन् १९८८ को वर्षाबाट रूपलाल गुटसँग पार्टीमा चर्को अन्तरविरोध भएपछि पार्टीभित्रको यथार्थ कुराहरू पार्टी नेतृत्वको गैरक्रान्तिकारी प्रवृत्ति, जनयुद्धको नीतिप्रति नफरत, पूर्तिघात बैंक सघर्षको रु. ५ लाख २० हजारको रकमबारे पार्टीका साथीहरूलाई यथार्थ कुराहरू जानकारी गराउने सिलसिलामा यो पंक्तिकार खगेन्द्र संग्रौला बस्ने काठमाडौँ, चाबेलमा पनि पुगेको थियो । उनले सुरुमा ‘संकटको घडी’ हाम्रो दस्तावेज पढे र यथार्थ कुराहरू सुने । पार्टी सम्मेलनको पक्षमा उभिने वचन दिए तर पछि रूपलालहरूसँग भेटेर नै होला उनी त मसँग रूपलाल जस्तै क्रुद्ध बन्दै भने, “तिमी नेता बन्ने महात्वाकांक्षा बोक्नु भन्दा आफ्नो हैसियत अनुसार तल बसेर आदेशको पालना गर्दै काम गर्ने मनुवा हौ, … एक बारको जिन्दगानीमा राम्रो कर्म गरेर जाऊ !…” ।
नारायणी, काली र सेती नदी किनारहरू र त्यस सेरोफेरोका पहाड पर्वतहरूमा संगठनको विस्तार, छापामार कारबाहीहरूको नेतृत्व जस्ता कारणहरूले केन्द्रीय लडाकु दलको भेलाले मलाई अध्यक्षमा चुन्यो । त्यसपछि छापामार गुरिल्ला युद्ध सञ्चालन गर्न नेपाल-भारत सीमाको घना जंगलमा ६ दिनको यात्रा गरियो । प्रशिक्षण शिविर सञ्चालन गर्न रासन, पुस्तक सामग्री, हतियार, लजिस्टिक कुराहरूको लागि रूपलालसँग रु. १ लाखको माग गरियो ।
उनीहरूले ‘हुन्छ, पठाउँछौँ, दिन्छौँ…..’ भनेर भने तर कहिल्यै पठाएनन्, दिएनन् । त्यसको मूलकारण रूपलालहरूमा जनयुद्धको नेतृत्व गर्ने न आँट थियो न कार्यदिशा । तिनमा त भ्रष्ट मनोवृत्ति व्याप्त थियो । जुन कारणले बुढी श्रीमतीलाई जबर्जस्त त्यागेर १८ वर्षकी केटीसँग भारतको महुमा अनमेल विवाह मात्र हैन कि बैण्डबाजा बजाएर त्यो अमूल्य धन फुकेका थिए । यो २०४३-४४ को समय हो ।
जहाँसम्म सुमनको कुरा छ, वास्तविक क्रान्तिको तयारी गर्ने मेरो प्रस्तावबाट उनी पनि भयभित बनेका हुन् । अनि भ्रष्ट रूपलाल सामु आत्मसमर्पण गर्दै उत्तमलाई भुसुना ठान्दै त्यसबेला रूपलालका असली सेवक बनेका हुन् । खगेन्द्र संगौलाले पनि दुरुस्तै त्यस्तै गरे, “तिम्रो हैसियत तल बस्ने हो र नेताहरूले दिएको आदेश पालना गर्ने हो, नेता बन्ने महत्वाकांक्षा पाल्ने हैन …..” । मानौँ डाँका लुटेराभन्दा निकृष्ट र निच मान्छेका हुकुमलाई मैले शिरोपर गरेर जानु पथ्र्यो । वास्तविकतामा खगेन्द्रको वास्तविक हैसियत र उनको दासमालिक र सामन्ती जमिन्दार प्रवृत्ति मैले त्यसबेला राम्ररी भोगेँ । माक्र्सवादी, लेनिनवादी र माओवादी विचार प्रवृत्ति तिनमा लेस पाइनँ । यद्यपि उनले जति साहित्यहरू लेखुन् वा अनुवाद गरुन् ।
२०५५/०५६ भनौँ सन् १९९८/०९९ तिर एकदिन साप्ताहिक जनएकतामा खगेन्द्र संग्रौलाको एउटा लेख आएको थियो । एउटा कार्यकर्ताले ‘मेरो स्थान कहाँ हो ?’ भनेर प्रश्न गर्दा ‘तेरो स्थान यहाँ हो र तिम्रो कर्तव्य यो यो हो’ भनेर आदेश फर्मान गर्ने यो मान्छे स्वयमको स्थान कहाँ हो ? के हो ? भनेर परपीडा पोखेको थियो । त्यसबेला मैले गहिरो गरी अनुभूति गरेँ, युद्धसंग्राममा भाग लिएर काल महाकाल काटेर बाँचेको मान्छेको अभिमत र विचारलाई आँखा नदेख्ने तिमी त कलम चलाउँदै र जिब्रोले बोल्दै आएका मनुवा न हौ । तिम्रो अवमूल्यन गर्ने कुनै मान्छेले केही बोलेको शब्दहरूले तिमीलाई त्यति धेरै पीडा भयो र इतिहास सम्झियौ, आफ्ना कुकर्महरूको याद दिलायो । तिम्रा प्रत्यक्ष लिखित शब्दहरू र व्यावहारिक मार खाएका भूमिगतकालको यो घाइते सिपाहीलाई त्यसबेला कति दुःख र पीडा भयो होला ?
सन् १९९४/९५ तिर ‘साप्ताहिक जनएकता’ मै हुनुपर्छ संग्रौलाले रूपलालबारे एउटा लेख लेखेको थियो, ‘न रूप, न लाल रूपलाल’ । जहाँ उनको व्यवहारिक र सैद्धान्तिक टाट पल्टाईको व्याख्या थियो । सन् २००४।०५ तिर कान्तिपुर दैनिक हो वा अन्य कुनैमा हो का. रोहितबारे एउटा साहित्यिक कार्यक्रमको वणर्न थियो । त्यसमा संग्रौलाले लेख्छन्, ‘भक्तपुरको साहित्यिक कार्यक्रममा कविहरू मञ्चमा थिए, दर्शकदीर्घामा का. रोहित ।
उहाँले सबै कविहरूका कविताहरू राम्ररी सुन्नुभयो… तब न नेता । नेपालमा यो स्तरको नेता दुर्लभ छ… उनीहरू त प्रायः सबैलाई आफ्ना झुसिला कुराहरू पिलाउन र मञ्चमा बस्न मात्र लालायित हुन्छन् …।’ भावहरू यस्तै थिए ।
माथि का. रोहित र रुपलालबारे संग्रौलाको विश्लेषण न्यायिक र सत्यको नजिक थियो । तर २०७९ मा छापिएको खगेन्द्र संग्रौलाको ‘एक बागी (खगेन्द्र संग्रौलाको साधना र संघर्ष)’ मा चाहिँ का. रोहितलाई मानमर्दन भएको भाव छ भने इतिहासको कलंकित र दुष्ट-भ्रष्ट प्रवृत्तिका वाहक रूपलाललाई इतिहासको नायकको रूपमा स्थापित गर्ने दुष्प्रयास छ ।
सम्भवतः रूपलाल विश्वकर्मा मृत्युअघि माक्र्सवादलाई हिलो छ्याप्दै सामन्ती पुँजीवादी पार्टीमा प्रवेश गरेका थिए । त्यसरी नै नेपाली जनताको मूल समस्या वर्ग संघर्ष र शासकवर्ग शोषक वर्गकै पक्षपाती छ, जसको हल वर्ग संघर्षको सिद्धान्तमा खोजिनुपर्छ भन्ने सवालभन्दा मधेसी मुद्दा र जातीय मुद्दालाई प्राथमिक स्थान दिने र तिनको अभियन्ता बन्ने संग्रौलाको कर्म पनि अन्ततः गैरमाक्र्सवादी देखिन्छ । अन्ततः विचारधारणामा एकरूपता भएर नै संग्रौलाले रूपलाल विश्वकर्मालाई अरु माक्र्सवादी क्रान्तिकारीहरूले दुत्कारे पनि आफूले अँगाल्नुपर्ने देखे ।
अन्तमा ‘एक बागी (खगेन्द्र संग्रौलाको साधना र संघर्ष)’ नेपाली भाषामा प्रकाशित पुस्तकको सुरुमा एक अंग्रेज लेखकको अंग्रेजी भनाइ र अर्का एक भारतीय कविको हिन्दी भाषाको ‘सायरी’ छापिएको छ । यसले के संकेत गर्दछ भने अंग्रेजी र हिन्दी भाषा नेपाली भाषाभन्दा धेरै महान् र महत्वपूर्ण छ भन्ने अर्थ लाग्छ । यो प्रवृत्ति नेपाली भाषामाथिको अवमूल्यन हो । मिठो भाषा, सरल र सरसपूणर् रूपले लेख्ने संग्रौलाका विषयमा व्याख्या गर्नुअघि ऐतिहासिक पृष्ठभूमि दिने र सिंगारपटार गर्ने पोख्त लेखक उज्ज्वल प्रसाईं माहिर लेखक हुन् । तर कलमको निशान सत्य, यथार्थमा आधारित नभई मनोगत, झुठ र गलत अनि घातक प्रवृत्ति र व्यक्तिहरूलाई स्थापित गर्न खोज्नु भनेको धारिलो खुकुरी पत्थरमा बजार्नु बराबर हो ।