• असार २२ २०८१, शुक्रबार

कोही कांग्रेसी रोए, कोही कांग्रेसीले घण्टीमा गएको भोट फिर्ता गर्ने चिन्ता पोखे

बैशाख १९ २०८०, मंगलवार

घोराही, । ‘संगै बसेर खाना खान्छौँ तर अलि पर गएर कुरा काट्न सुरु गछौँ’ नेपाली कांग्रेका एकजना जिल्ला नेताले भन्नुभयो, ‘चुनावमा भोट हाल्दैनौं ।’ उहाँको भनाई सत्य थियो, केही भनाई आफैतिर पनि फर्किन्थ्यो । नेपाली कांग्रेसको प्रथम सम्मेलनमा महामन्त्री गगनकुमार थापा सहित ४२ जना नेताहरुले आफूभित्रका कुण्ठा, गुनासा र असहमति ओकले ।

संगठन भित्र जातीय विभेद, वर्गीय विभेद र लैङ्गिक विभेद पनि छ । एउटा वडा र अर्कोको विभेद पनि छ । एउटामा १५ जना सकृय सदस्य अर्को वडामा ७८ जना सकृय सदस्य थपिन्छ । यहि विभेद भित्र एकता खोज्ने होइन भने कांग्रेसको आगामी बाटो निकै चुनौतिपूणर् छ । सोचे भन्दा खराब हुनेछ । रोष्ट्रमबाट औँला ठड्यार चुनौति दिए । ‘नातावाद, कृपावाद, तानाशाहीको विरुद्धमा नेतृत्व लड्यो । अहिले आफै त्यसैमा फस्यो । कार्यकर्ता नेताको हली गोठालो बनेर कांग्रेस सुध्रिन्न ।’

यसरी समस्याका पनि जानकार थिए । उनीहरु बोलेको सभाहल भित्र मात्रै होइन बाटो हिँड्नेलाई माइकबाट सुनाइएको थियो । एउटा कांग्रेसको आँखामा आँसु झर्दा अर्को कांग्रेसको आँखामा आँशु देखिन्न । ऊ खुसी हुन्छ । हारेपछि देखिस्, खाईस् भन्छ । पूर्वको कांग्रेसलाई चोट लाग्दा पश्चिमको कांग्रेसलाई दुख्नुपर्छ । मबाट प्रारम्भ गरौँ । अर्काले गरेन भन्ने होइन ।

मैले गरे कि गरिन भनौँ । उनीहरुले भनिरहेका थिए । भर्खरै सकिएको स्थानीय र संघ प्रदेशका चुनावको स्मरण गरे । भोट हालेनौँ, हाल्न पनि दिएनौँ भने । यतिबेला जनताले, किसानले, सर्वसाधारणले पार्टीबाट आशा गरेको छैन । नेताले खोजेको छ । पद नपाएकाले यता आ उता जा भन्छ । पद पाएकाले अलि ठुलो पदको आशा गरेको हुन्छ । संगठनको मतलव गर्दैन ।

संगठन रहेपछि मात्रै नेता हुने हो । संगठन व्यापक बनाउँ भन्यो मान्दैन । नेताको ढोका चाहार्ने, कोठा चाहार्ने अवसर लिएपछि संकट पर्दा भाग्छन् । कोठा र ढोका चाहार्नेको पक्षमा चिन्तित नहुनुस् । कांग्रेस युवा, किसान महिलाको पार्टी हो, अहिले दलालको पार्टी भएको छ । सामन्तको पार्टी भएको छ । दलित महिला जनजातिको कुरा सुनिन्न । उनिहरुसँग छलफल गर्दैन ।

आज मन रोएको छ । यसरी भक्कानिने गरी आफूभित्रका विरह पोखेका थिए । पार्टीले सबै समुदायलाई समेट्न सकेको छैन । दलित, महिला, अल्पसंख्यक र पछाडि पारिएकाको मैत्री संगठन बनाऔं । कांग्रेसको संस्कृति ठिक भएन । कांगे्रस धन, शक्ति र सुन्दरतातिर गयो । तर त्यो सबै क्षणिक हुन्छ । जनताले मत नदिएर शक्ति लुट्न सक्छन् ।

विकास निर्माण मन्त्री र माननीयले आफ्नो क्षेत्र मात्र नहेर्नुस् । घरका श्रीमतीलाई सकृय सदस्यता दिने चुनावमा भोट चाहिँदा आम जनता खोजेर भेटिंदैनन् । ठुला नेताकै वडामा चुनाव हारिएको छ । चप्पल लगाएको मान्छेले भोट हालेर कांग्रेस बचायो । हामी नेताले स्वार्थमा लागेर कांग्रेस सक्दैछौँ । मेरो मान्छेले गल्ती गरेपछि कार्वाही हुँदैन, अर्काकोले गरेपछि कार्वाही हुनैपर्छ । कांग्रेसको नीति यस्तो होइन ।

गुटबन्दीको चरम सीमामा छौँ । व्यक्ति केन्द्रित राजनीति छ । हामी अल्मलिएका छौँ । संकिर्ण धारमा उभिएका छौँ । नेता हुन गुट उपगुट चाहिन्छ तर त्यो चुनावमा हार्न होइन । आफ्नो घर जलाउने र आगो तापेर खरानी घस्न होइन । अहिले हामीबाट त्यस्तै भएको छ । अर्को पार्टी राम्रो देख्नु भन्दा आफ्नालाई राम्रो बनाऔं । कांग्रेस संस्थागत रुपमा चलेको छैन आन्तरिक रुपमा ध्वस्त छ ।

फेसबुकमा लेखेको पनि जनताले हेर्छ । सत्य मात्रै लेख्यौँँ भने जनताले विश्वास गर्छ । हिजो ढुंगा हान्ने राजनीति थियो । अहिले लेख्ने राजनीति छ । लेखौँ । उनीहरुले रास्वापामा गएको भोट कांग्रेकै भएको दाबी गरे । यो कस्तो घण्टी हो, कसरी बज्यो ? कांग्रेस भित्रका दुराग्रही कसरी घण्टीको पछि लागे । उनीहरलाई कसरी निरुत्साहति गर्ने ? पार्टीमा कुन उपाएले फर्काउने ।

इतिहास केलाएर भाषणले मात्रै संगठन बन्दैन । नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको प्रथम सम्मेलनमा कोही रोए, कसैले टेबुल ठटाएर पार्टीको आन्तरिक अवस्था सुनाए ।