काठमाडौं । फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ।
प्रहरी प्रधान कार्यालयले सभामुख घिमिरेलाई आइतबार दोस्रो पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। ‘हिजो ३/४ बजेतिर पत्र आएको छ,’ उनले भने।
२०७२ को मधेस आन्दोलनका बेलामा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। कोइरीमाथि विकको हत्या आरोप छ।
प्रहरीले यसअघि गत पुस ७ गते पनि पत्र पठाइएको थियो। ‘… मिति २०७७/०८/१९ गते सम्मानित उच्च अदालत जनकपुरबाट भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गरिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ,’ त्यतिबेलाको पत्रमा भनिएको थियो।