• मंसिर ११ २०८१, मंगलवार

बैशाख पूर्णिमा र बुद्ध जयन्तीको महत्व

बैशाख १६ २०८०, शनिबार

बैशाख  पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीहरुले मान्दै आइरहेको बुद्ध जयन्तीको ठूलो महत्व रहिआएको छ । बैशाख  पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नु भएको महत्वपूर्ण तिनवटा संयोग परेकोले पनि बैशाख  पूर्णिमाको अत्यन्तै महत्व भएको हो ।

विश्वका सबैतिर अरबौं बौद्धहरुले व्यापक रुपमा यो बैशाख  पूर्णिमाका दिन बुद्ध जयन्ती अत्यन्तै श्रद्धा भावले मान्दै गौतम बुद्ध र उहाँका ज्ञानको चर्चा परिचर्चा गर्छन् । यस अवसरमा विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदूत गौतम बुद्धलाई संझेर श्रद्धापूर्वक नमन गर्दछन् ।

नेपालमा देशैभरी रहेका चैत्य, गुम्बा र विहारहरुमा बुद्ध पूजा गरिन्छ । व्यापक रुपमा विभिन्न कार्यक्रमहरु गरेर विश्व शान्तिको कामना पनि गरिन्छ । भगवान बुद्धका मूर्ति भएका ठाउँमा मेला पनि लाग्छ । गौतम बुद्ध जन्म भएको स्थान नेपालको लुम्बिनीमा ठूलै मेला लाग्छ । बुद्धको पूजा गरिन्छ, विभिन्न कार्यक्रम गरेर भव्य रुपमा बुद्ध जयन्ती मनाइन्छ ।

यसमा देशी तथा विदेशी बौद्धहरु आएर सम्मिलित भई श्रद्धापूर्वक बुद्ध जयन्ती मनाउँछन् । राष्ट्रिय स्तरमा बुद्ध जयन्ती लुम्बिनीमा मनाइन्छ । प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिले लुम्बिनी क्षेत्र नै ढकमक्क र मनोरम दृष्यले शोभायमान भइरहेको हुन्छ । बुद्ध ध्वजा पताकाले लुम्बिनी मायादेवीको क्षेत्र नै ढाकिएको हुन्छ भने विभिन्न किसिमले त्यहाँ सजाइएका सजावटले मनोरम आकर्षण पारिरहेको हुन्छ ।

काठमाडी उपत्यकामा पनि बुद्ध जयन्ती मनाउने सन्दर्भमा विभिन्न कार्यक्रम गरी व्यापक रुपमा मनाउने गरिन्छ । घर घरमै बुद्धको झण्डा पहराइएको हुन्छ । बौद्ध झण्डा भएका पाँचथरी पञ्चतत्व आकाश, जल, पृथ्वी, अग्नी र हावालाई लिइएको छ ।

त्यस्तै निलो, सेतो, पहेंलो, गेरु र रातो रङ्ग भएको बौद्ध झण्डा पञ्चबुद्धको प्रतीकको रुपमा बौद्ध धर्ममा मानिन्छ । विश्व ब्रम्हाण्ड चराचर जीव जगतमा यिनै पाँच तत्व नै व्याप्त भइरहेको छ । संसारमा जति पनि प्राणीहरु छन् ती सबै पञ्चतत्वबाटै श्रृष्टि भएर त्यसैमा विलिन भई जाने गर्दछन् । त्यसै भएर नै प्राणी मात्रको जीवन चक्रमा जन्म र मृत्यु भइरहने हो ।

भगवान गौतम बुद्धले मानिसहरुको दुःख हुनु, जन्म मृत्युको चक्रमा परिरहनु र त्यसको उद्धारका लागि सबैले बुझ्ने गरी विभिन्न किसिमको ज्ञान दिनु भएको छ । यो संसारमा मानिसहरु भौतिक सुख सुविधाले सम्पन्न हुनु र गरिब हुनाले मात्र सुख र दुःख हुने होइन ।

वास्तवमा मानिसहरुमा भएका दुषित चित्तले गर्दा नै दुःख हुने हो । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारले नै मानिसहरुलाई दुःख भइरहने हो । यही चित्तको विकारले गर्दा नै मानिसहरु जन्म भइरहनु पर्ने अनि मरिरहनु पर्ने हो । यसरी जन्म र मृत्युको दुःखको चक्रमा मानिसहरु अल्झी रहन्छन् ।

मानिसहरु जन्मिनु पनि दुःख, विरामी हुनु पनि दुःख बृद्धा हुनु पनि दुःख, आफ्ना प्रियजनहरुसँग छुट्टिएर बस्नु पर्ने पनि दुःख, मन नपर्नेहरुसँग बस्नु पर्ने पनि दुःख अनि अन्तिममा मर्नु पर्ने पनि दुःख । यिनै सम्पूणर् दुःखको वास्तविकताबाट पार पाउन नै सजिलो मार्ग अष्टांग मार्ग हो भनि गौतम बुद्धले बाटो देखाउनु भएको छ ।

पञ्चशील र अष्टशील जस्ता अत्यन्तै महत्वपूणर् लोक कल्याणका लागि ज्ञान दिनु भएको छ । भगवान गौतम बुद्धले दिनु भएकको मार्गमा अगाडि बढ्दै विश्वशान्तिको कामना गर्नु नै गौतम बुद्धको जयन्ती मनाएको सार्थक हुनेछ । बुद्ध जयन्तीको अवसरमा विश्वका विभिन्न देशमा विभिन्न किसिमका भव्य कार्यक्रमहरुको आयोजना गरी बुद्धलाई संझने, बुद्ध पूजा गर्ने र बुद्धका ज्ञानका चर्चा परिचर्चा गर्ने गरिन्छ ।

विशेष गरेर दक्षिण कोरियामा भिक्षुहरुले बुद्ध जन्मभूमि नेपालको लुम्बिनीमा आई विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन् । एउटा उल्लेखनीय कार्य दक्षिण कोरियाका भिक्षुहरु २०७० साल बैशाखमा गौतम बुद्ध जन्म भएको स्थान विश्वशान्तिको उद्गम स्थल नेपालको लुम्बिनीमा आई त्यहाँ भएको अखण्ड शान्तिदीपलाई आफ्नो देशमा लगेर शान्तिदीपलाई दक्षिण र उत्तर कोरियाको सिमाना मुन्सान नजिकै रहेको शान्ति पार्कमा प्रज्वलन गरेर शान्तिका निम्ति प्रार्थना गरेका थिए ।

दुई कोरियाका बीचमा द्वन्द्ध बढिरहेको समयमा शान्तिदीप यात्रा र दीप प्रज्वलनले शान्ति स्थापनामा बल पुग्ने विश्वास गरिएको आयोजकहरुले बताएका छन् । शान्तिदीप स्थायी रुपमा राख्न कोरियाको १०८ वटा विहारमा शान्तिदीप प्रज्वलन गरिएको थियो र त्यहाँ पनि बैशाख  पूर्णिमाका दिन बुद्ध गराइन्छ ।

बुद्ध जयन्ती मनाउने क्रममा कोरियामा लोटस लाल्टिन फेस्टिभलमा पनि शान्तिदीपलाई नगर परिक्रमा गराइन्छ । हाम्रो देश नेपालमा बालाजु पूर्णिमा अर्थात् चैत्र शुक्ल  पूर्णिमा, बैशाख  पूर्णिमा र नमोबुद्धको मेला  पूर्णिमाका दिन समेत गरी वर्षमा तीन पटक गौतम बुद्धलाई विशेषरुपमा सम्झेर विभिन्न कार्यक्रमको आयोजना गरी विशेष रुपमा मेला भर्ने गरिन्छ ।