• असार १४ २०८१, बिहीबार

राज्यलाई नै चुनौती दिदैँ मापदण्डविपरित पेट्रोलपम्प सञ्चालन, जसले निम्त्याइरहेछ जोखिम

बैशाख १४ २०८०, बिहीबार

काठमाडौै । उपत्यकाको चोक चोकमा मापदण्डविपरित पेट्रोल पम्प सञ्चालन छन् । जसलाई नेपाल आयल निगमले कारबाहीको दायरामा ल्याउन सकेको छैन । निर्वाध रुपमा चलेका त्यस्ता पेट्रोलपम्पले न नियम मान्छन् न निगमले कारबाही नै गर्न सक्छन् । मन्त्रिपरिषद्ले निर्णय गरेर उपत्यकाको १८ वटा पेट्रोलपम्प हटाउने निर्णय भए पनि सो कार्यान्वयन आउन सकेको छैन ।

शक्तिको आडमा सञ्चालित त्यस्ता पेट्रोलपम्पमा आगलागी भइहाले नियन्त्रण बाहिर जाने निश्चित छ । बाक्लो बस्तिमै जोडेर बनाइएका त्यस्ता आयल निगमलाई नियन्त्रणका लागि सरकारले पनि बेवास्ता गर्दै आइरहेको छ । विहिबार मात्रै कोतःधुकु आयल स्टोर्सलाई काठमाडौैं महानगरपालिकाले सिल गरेको छ । यो पेट्रोल पम्प सडकसँगै जोडिएको छ । यो पेट्रोल पम्पको ट्याङ्की भने चार तले घरको भूइ तलामा छ । पेट्रोल नजिकै छ इलेक्ट्रोनिक पसल । जुन सुकै बेला पनि यो पेट्रोल पम्पले खतराको घण्टी बजाइरहेको यो पम्पलाई महानगरले त नियन्त्रणमा लिएर सिल लगायो । पम्पलाई सिल लगाए पनि अदालतको आदेशबाट पेट्रोलपम्प सञ्चालन हुने गरेका छन् ।

१५ पुस २०७६ मा मन्त्रिपरिषद्को निर्णय अनुसार उपत्यकामा तत्काल १८ वटा पेट्रोल पम्प हटाउने निर्णय भएको थियो । सडकको मूल संरचनासँगै जोडेर बनाइएका पेट्रोल पम्पहरू सरकारले हटाउने निर्णय लिएको छ । पहिलो चरणमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोल पम्प स्थान्तरण गराउने निर्णय सरकारले गरेको हो । तर, सरकारले गरेको सो निर्णय न कार्यान्वयनमा आयो न अन्त कतै स्थान्तरण नै भयो । अझै पनि निरन्तर मापदण्ड मिचेर त्यस्ता पेट्रोल पम्प सञ्चालनमा आइरहेका छन् ।

सरकारको निर्णयअनुसार स्थानान्तरण गराउन लागिएका पेट्रोल पम्पहरूमा कलंकीको बाबा, श्यामा र त्रिशुल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्प रहेका छन् ।

यस्तै, महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धका जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोरलाई पनि स्थानान्तरण गराउने निर्णय भएको थियो ।

यी पेट्रोल पम्पहरू मूल सडकसँगै जोडिएर सञ्चालनमा रहेका कारण सवारी आगमनलाई बाधा पुगिरहेको ठहर गरिएको छ । पेट्रोल–डिजेल भर्ने सवारी साधनको लाइन हुँदामात्र होइन, केही पेट्रोल पम्पको त पेट्रोल हाल्ने पाइप र नोजलसमेत सडकमै आइपुग्छ ।

उपत्यकाभित्र रहेका १४४ पेट्रोल पम्पमध्ये धेरैजसो पेट्रोल पम्प मूल सडक क्षेत्रमै भए पनि पहिलो चरणमा यी १८ वटालाई मात्र स्थानान्तरण गर्ने निर्णय गरिएको हो । उपत्यकामा सञ्चालित दर्जन अधिक पेट्रोल पम्पको आफ्नो कम्पाउन्ड नै छैन, जसले गर्दा सवारी साधनहरू सडकमै लाइन लागेर पेट्रोल–डिजेल हाल्नुपर्ने अवस्था छ ।

नेपाल आयल निगमकोे आधिकारिक बिक्रेताको बोर्ड झुन्ड्याएर सडकमा अति प्रज्वलनशील पदार्थ बिक्री गरिरहेको यो पम्पको आफ्नो ‘कम्पाउन्ड’ छैन। यसको अर्थ, यहाँ पेट्रोलियम पदार्थ कारोबार गर्दा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधार र सुरक्षा प्रबन्ध केही छैन । ६० लाख नागरिक बसोबास गर्ने उपत्यकामा धेरै जस्तो पेट्रोल पम्प घर र सडक पेटीमै जोडिएर बनेका छन् । जहाँ घनाबस्ती छ । पेट्रोलपम्पले नजिकैकै बस्तिमा खतराको घण्टी त बजाइरहेको छ नै बाटोमा हिड्ने पैदल यात्री समेत त्यसको जोखिममा छन् । किन कि कुनै पनि बेला बिष्फोट हुने खतरा छ ।

कोत: धकु आयल स्टोर्सलाई नेपाल आयल निगमले बन्द गर्नका लागि पटक पटक निर्देशन नै दिएको थियो तर सर्वोच्चबाट आदेश लिएर अहिले सो पेट्रोल पम्प चलिरहेको छ । आयल निगमले आदेश दिएपछि पम्प सञ्चालक उत्तमदास मानन्धरले आफ्नो जग्गा सरकारले अतिक्रमण गरेको भन्दै मुद्दा हालेपछि सर्वोच्चले ‘तत्काल पेट्रोल पम्प नहटाउन’ आदेश दिएपछि निगम निरिह बनेको हो ।

कोतःधुकु आयल स्टोर्सको ठीक पल्लोपट्टि छ– चक्रपथ फ्युल सेन्टर। नेपाल आयल निगमका अनुसार, कोतःधुकु आयल स्टोर्सभन्दा चार वर्षपछि २०४७ सालमा रामनाथ डंगोलले सडक किनाराबाट केही भित्र ‘फ्युल डिस्पेन्सर’ राखेर ‘चक्रपथ फ्युल सेन्टर’ सञ्चालनमा ल्याएका हुन्। यो पम्प पनि सडककै छेउमा आइपुगेको छ । सँगै छ ठूलो घनाबस्ती । विष्फोट भए जोखिम उत्तिकै छ । व्यस्त टेकु–कालीमाटी सडकअन्तर्गत टेकु नजिकैको कनक ट्रेड कन्सर्न वा कलंकी चोकमा रहेको श्यामा आयल तथा एकान्तकुनास्थित गायत्रीदेवी आयल स्टोर; सबै सडक किनारामै सञ्चालन भइरहेका छन् ।

एकान्तकुना चोकबाट भैँसेपाटीतर्फ ओरालो बाटोमा रहेको गायत्रीदेवी आयल स्टोर्सको पनि ‘कम्पाउन्ड’ छैन। छेउमा जिएस वर्कसप एन्ड अटो पार्टस्मा गाडी मर्मत, वेल्डिङलगायत काम भइरहने भएकाले पम्पमा आगलागी हुनसक्ने जोखिम उच्च छ। जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेसनल इन्क’ पेट्रोल पम्प पनि सडक किनारमै छ। नजिकै ‘युडी मोर्डन डिजाइन मोटरसाइकल वर्कसप’ छ।

ललितपुरको लगनखेल बसपार्कपछाडि रहेको ‘मञ्जुश्री पेट्रो सेन्टर’ असुरक्षित छ । पहुँचको भरमा यो पेट्रोल पम्पले बीच सडकमै पम्प राखेको छ । कुमारीपाटीको महायान पेट्रोल पम्प सडक किनारमै छ। नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा १ सय ३१ वटाभन्दा बढी पम्प सञ्चालित छन्।

निगमको मापदण्डअनुसार सामान्यतः एउटा पम्पमा कम्तीमा २० किलोलिटर डिजल (२० हजार लिटर) र १२ किलोलिटर (१२ हजार लिटर) पेट्रोल भण्डारण गरिन्छ। यसलाई आधार मान्दा काठमाडौं उपत्यकाका १ सय ७० हाराहारी पम्पहरूमा नियमित ३ हजार ४ सय ४० किलोलिटर (३४ लाख ४० हजार लिटर) डिजल र २ हजार ६४ किलोलिटर (२० लाख ४ हजार लिटर) पेट्रोल अर्थात् दुवै गरेर ५४ लाख लिटरभन्दा धेरै इन्धन भण्डारण हुन्छ ।

यसबाहेक यी पम्पहरूलाई तेल बेच्ने नेपाल आयल निगमकोे थानकोट डिपोमा ५ हजार ३ सय १० किलोलिटर (५३ लाख १० हजार लिटर) पेट्रोल, ८ हजार ४ सय किलोलिटर (८४ लाख लिटर) डिजल र ७ सय १० किलोलिटर (७ लाख १० हजार लिटर) मट्टितेल भण्डारण हुन्छ। विमानस्थलनजिकै सिनामंगलमा रहेको हवाई इन्धन डिपोमा ७ हजार किलोलिटर (७५ लाख लिटर) हाराहारी हवाई इन्धन भण्डारण गरिएको हुन्छ। निगम कर्मचारीका भनाइमा, सामान्यतया क्षमताभन्दा १० प्रतिशत कम इन्धन भण्डारण गरिन्छ।

के छ मापदण्ड ?
निगमले तयार पारेको पेट्रोलियम पदार्थ बिक्री–वितरणसम्बन्धी विनियमावली–२०७३ अनुसार पेट्रोल बिक्री स्थलको क्षेत्रफल तराई र भित्री मधेशका जिल्ला (उदयपुर, चितवन, मकवानपुर, दाङ र सुर्खेतका पहाडी क्षेत्रबाहेक) एक बिघा (१३ रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्ने भनिएको छ। यसैगरी बिक्री स्थलको तीन दिशातर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की ‘कम्पाउन्ड’ वा सिमेन्टको पिलरमा काँडेतार लगाएको हुनुपर्छ। ‘रिफ्युलिङ एरिया’ ढाक्ने गरी करिब १८ मिटर र ३० मिटरको छतसहितको टहरो निर्माण गर्नुपर्छ।

यस्तै अपांगमैत्री एकसहित पाँच शौचालय, बिक्री स्थलको ‘कम्पाउन्ड’ भित्र सुरक्षाका लागि ‘फायर रिटारडेन्ट’, बिक्री स्थलमा रहेका ‘अन्डरग्राउन्ड ट्याङ्क’, त्यसको क्षमता र संख्याको नक्शाङ्कन र सर्वसाधारणले देख्ने गरी पेट्रोलियम पदार्थको मौज्दात विवरण राख्नुपर्छ। त्यसबाहेक एक पटकमा कम्तीमा आठ सवारीसाधनमा पेट्रोल भर्नेगरी चारवटा पेट्रोल ‘नोजल’ र चार डिजल ‘नोजल’ राख्नुपर्ने व्यवस्था छ।

यसैगरी पेट्रोलियम पदार्थ बिक्री गर्ने क्षेत्रमा ‘अन्डरग्राउन्ड’ ट्यांकी रहेको क्षेत्र खुला ठाउँमा हुनुपर्ने र बिक्री स्थल क्षेत्रमा कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पर्खाल अनिवार्य हुनुपर्ने प्रावधान छ। तर नेपाल आयल निगम आफैँले जारी गरेका मापदण्ड काठमाडौं उपत्यकामा लागू गर्न सकेको छैन। गोलखबर अर्काइभ