• मंसिर १५ २०८१, शनिबार

गोलखबर समाचार प्रभाव: बिहारमा अनियमितताको समाचार आएपछि भिक्षुले १९ लाख फिर्ता गरे

बैशाख १३ २०८०, बुधबार

काठमाडौं । काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको समाचार गोलखबर डटकमले प्रकाशन गरेपछि भिक्षुहरुले धमाधम पैसा फिर्ता गर्न थालेका छन् ।

विहारका अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा भवन निर्माण र दान दक्षिणको रकम आफू खुसी प्रयोग गर्ने गरेको भेटिएको खबर गोलखबरले प्रकाशित गरेको थियो । प्रमुख भिक्षु उपतिस्स श्रेष्ठ र कोषाध्यक्षले आफ्नो खातामा राखेको १९ लाख रकम संघाराम बिहारको खातामा जम्मा गरेका छन् । बिहारका एक भिक्षुका अनुसार समाचार प्रकाशन भए लगतै आफूखुसी आफ्नो खातामा राखेर चलाउँदै आएको रकम फिर्ता गरिसकेका छन् ।

विहारका प्रमुख भिक्षु उपतिस्स श्रेष्ठ महास्थवीर र कोषाध्यक्ष सद्दातिस्सले भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट विहारको बुद्धमूर्ति जीर्णोद्वार परियोजनाका लागि आएको रकम, भूकम्पपीडितको नाममा पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माणबाट आएको १ करोड रुपैयाँ भ्रष्टाचार गरेको तथ्यसहित सार्वजनिक गरेको थियो । चन्दादाता र आस्थावान् उपासकको धार्मिक आस्था राख्नेहरूले दिएको रकमसमेत भिक्षुले हिनामिना गरेको भेटिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागबाट आएको ५६ लाख रुपैयाँ नक्कली खाता सञ्चालन गरेर राखेको र नक्कली लेखा परीक्षण गरेको समेत भेटिएको थियो । साथै पुनः निर्माण प्राधिकरणबाट आएको २२ लाख ९५ हजार १ सय ११ रुपैयाँको हिसाबकिताब मिलान गर्न नसकेको र महानगरपालिकाले पहिलो किस्तावापत् दिएको २४ लाख ४९ हजार ५ सय १० रुपैयाँ भुक्तानी भइसकेको छ । जसमध्ये १४ लाख रुपैयाँको हिसाबकिताब मिलान हुन सकेको छैन । भवन निर्माणको नाममा नक्कली बैंक खाता र नक्कली लेखापरीक्षण बनाएर हिनामिना गर्ने गरेको भेटिएको हो ।

यो पनि-

बुद्ध विहारको नाममा आएको करोडौं रुपैयाँको हिसाबकिताव गायब