काठमाडौँ । मंगलबार साँझ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय टोली रुस भ्रमण सम्पन्न गरी नेपाल फर्किएको छ । रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले बताए । रुसी संसद नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीहरूले बताएको उनको भनाइ छ ।
शोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध बिस्तार गर्न रुस तयार रहेको तिमिल्सिनाले बताए । ‘रुसी संसद नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि शोभियत संघको कालखण्डमा जति सम्बन्ध र सहयोग नेपालमा भइरहेको थियो, त्यो बीचमा कमी भएको कुरा उहाँहरूले महशुस गर्नुभएको र अब शोभियत संघको कालखण्ड भन्दा अझ राम्रो बनाएर लैजान उहाँहरू उत्सुक भएको छ,’ तिमिल्सिनाले भने ।
दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारीपत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जीटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको उनले बताए ।
जीटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छफल भएको उनको भनाइ छ । गहुँ उपलब्ध गराउने, व्यापार बिस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको उनले बताए ।
त्यस्तै नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा पनि रुस तयार रहेको उनको भनाइ छ ।
‘दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारीपत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जीटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने सस्तो दरमा, गहुँ उपलब्ध गराउने, व्यापार बिस्तार गर्ने कुरामा इच्छुक हुनुहुन्छ,’ तिमिल्सिनाले भने, ‘सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार हुनुहुन्छ ।’