• मंसिर ११ २०८१, मंगलवार

नवल खड्काको चलचित्र ‘काँडेतार’ माथि सरकारले चलायो कैंची

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं । भारतसितको सम्बन्धमा असर पर्ने भन्दै सरकारले चलचित्र ‘काँडेतार’ प्रदर्शनमा रोक लगाएको छ । चलचित्र जाँच समितिले सो फिल्मलाई रोक लगाएको हो । सञ्चारकर्मीहरुसित कुरा गर्दै चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले २ देश बीचको कुरा भएकोले चलचित्र सम्वेदनशिल देखिएको बताए ।

सोमबार बेलुका चलचित्रको सेन्सर भएको हो । फिल्म हेरिसकेपछि बोर्डका पदाधिकारीले सो चलचित्रलाई सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरे । फिल्म निर्माणपछि फिल्म निर्माता र बोर्डका पदाधिकारीबीच लामो कुराकानी भएको थियो ।

‘कथा र विषयवस्तु देशलाई घोंच्ने तरिकाले आएपछि रोक्नकै लागि बनाइएको हो नी यो बोर्ड,’ बोर्डका अध्यक्ष सुवेदीले भने । उनले अहिले मर्यादित तरिकाले चलचित्र प्रस्तुत गर्नुहोस् भनेका छौं, सुवेदीले भने । तर निर्माता नवल खड्काले भने चलचित्रलाई प्रदर्शनको अनुमति नदिने निणर्य गर्ने बोर्डका विरुद्ध अदालतमा मुद्धा हाल्ने बताएका छन् ।

चलचित्र काँडेतारमा नेपाल र भारतबीच रहेको खुला सिमानाका कारण नेपालीमाथी भएको अपराध र गृह प्रशासनका केही दृश्यप्रति बोर्डको आपत्ति जनाएको निर्देशक खड्काले बताए ।

निर्माता खड्काले कुनै पनि कैंची नचलाइकन चलचित्र प्रदर्शन गर्न दिन आफूले आग्रह गरेको बताए । चलचित्रमा भारतसितको सीमानामा काँडेतार लगाएर आवागमनलाई व्यवस्थित गर्नुपर्ने, भारतीय मिचाहा प्रवृत्तिको विरोध गर्नुपर्ने लगायतका कथा पेस गरिएको छ । निर्माता खड्काले यसअघि बनाएका आवाज, भीमदत्त र दशगजा लगायतका चलचित्रहरुमाथी पनि यसैगरी सेन्सर लगाइएको थियो । खड्का देशभक्त कलाकार हुन् ।