• मंसिर १५ २०८१, शनिबार

सांसद गुरुङको प्रश्न,‘बाँदर निर्यात गरेर आर्थिक संकट समाधान गर्दा कसो होला सभामुख महोदय’ ?

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै गुरुङले त्यसलाई निर्यात गर्ने निणर्य गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने बताए । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला ? पनि जिज्ञासा राखे ।

‘किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । यसो गरे कसो होला सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरवादीहरु चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ,’ गुरुङले भने, ‘तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निणर्य गर्दाखेरि ठिकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय ।’
मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने गुरुङको भनाइ छ ।

‘मुलुक आर्थिक महासंकटमा परेको छ । हामीले पनि यहाँ यी समस्याको समाधान खोज्नै पर्दछ तर, समाधानको उपाय खोज्ने क्रममा अहिले हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पूँजीगत खर्च भारी रुपमा कटौति गर्न खोजिएको आभास भएको छ । पूँजीगत खर्च कटौति गरेर उभोगतितिर लैजान सकिंदैन सभामुख महोदय । संकट मोचनका उपायहरु खोजौं । संकट मोचन गरौं सभामुख महोदय ।’

गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको उल्लेख गरे । ‘अष्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौँ कंगारुहरू मार्दैछ । कंगारुको छाला निर्यात गर्दैछन् र, त्यसको मासु पनि प्रयोगमा ल्याउँदैछ । श्रीलंकाले हालसालै एक लाख बाँदरहरू निर्यात गर्ने निणर्य गरेको छ,’ गुरुङले भने ।

भ्रष्टाचार नियन्त्रण नगरेसम्म जुनसुकै उद्योगधन्दा सञ्चालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको गुरुङको भनाइ छ ।