• मंसिर ११ २०८१, मंगलवार

कम्युनिष्ट नेता मोहन वैद्यले आमाकाे चाैरासी पूजाकाे सट्टा अभिनन्दन गरे

बैशाख १२ २०८०, मंगलवार

घोराही १२, बैशाख । छोरा बुहारी, नाती, नातिना र पनाती पनातीना सहित करीब ७० जना र इष्टकुटुम्ब आफन्तजन जम्मा भएका थिए । मञ्चमा ९७ वर्षीया जानका वैद्य पोख्रेल बस्नुभयो । कान्छी बुहारीले कार्यक्रम सञ्चालन गर्नुभयो । व्यानरमा ‘शत वर्ष प्रवेशको अवसरमा आयोजित आमा जानका वैद्य पोख्रेलको अभिनन्दन लेखिएको थियो ।’

जेठो छोराका नाताले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई मञ्चमा आमासंगै आषणग्रहण गराइयो । ‘आमा बाबा बृद्धावस्थामा पुगेपछि पुरानो संस्कारका दानपुण्य, धर्मकर्म सम्बन्धी विधि विधान गर्ने प्रचलन रही आएको छ’ जानकाका जेठा छोरा महासचिव चैतन्यले भन्नुभयो, ‘परम्परागत भन्दा भिन्न प्रकृतिको गरेका छौँ ।’

उहाँले परम्परागत समाजलाई रुपान्तरण गर्ने राजनीतिक शक्ति भएकाले यसो गरेको बताउनुभयो । नयाँ ढंगले आमाको सम्मान गर्दा उचित होला भन्ने लाग्यो । अभिनन्दन गरे राम्रो हुन्थ्यो कि भन्ने सोँच राखिएको छ भन्नुभयो । उहाँको भनाईले यो कार्यक्रम अभ्यासका रुपमा रहेको बुझ्न सकिन्थ्यो ।

यो कार्य यस क्षेत्रकै नयाँ थियो । हिन्दु धर्ममा आस्था राख्नेहरुले ८० नाघेपछि ८४ पुजा गरेर दान दक्षिणा गर्ने चलन छ । यसैले परम्परागत भन्दा भिन्न थियो । उपस्थित धेरैले आश्चर्य भावले ध्यान दिए । परम्परागत संस्कृति बदल्न विकल्पको रुपमा कार्यक्रमले सन्देश दिएको महासचिव वैद्यले बताउनुभयो ।

उहाँले संस्कृत विद्यालाई कर्मकाण्डी विद्या भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘संस्कृत भनेको पुजापाठ गर्ने मात्रै हो भन्नु भ्रम हो’ महासचिव वैद्यले भन्नुभयो, ‘संस्कतृका विद्धानहरुले खाली पुराना कुरा गरेर हैरान पार्छन् । त्यहाँ भौतिकवाद छ, नयाँ कुरा छन् भन्दैनन् । हामीले छानेर नयाँ कुरामा जाउँ भनेका हौँ ।’

उहाँले परम्पराको चिरफार गर्न जरुरी भएको बताउनुभयो । नयाँ संस्कृतिको जग बसाल्न खोजेको क्रान्तिकारी माओवादीका नेता धनेश्वर पोख्रेलको भनाई थियो । ‘उहाँ (आमा) को ८४ पुजा लगाइदिएर, आध्यात्मवादी संस्कृति अनुसार पुजाआजा दानदक्षिणा गरेको भए हुन्थ्यो भन्ने कसैलाई लाग्न सक्छ’ उहाँले भन्नुभयो, ‘बाँच्दासम्म बृद्धाश्रममा राख्ने मरेपछि दानपुण्यमा खर्च गर्ने परम्परावादी रुढीवादी संस्कृति छोडौँ ।’

उहाँले ऋण काढेर दानपुण्य गर्ने र साहुतिर्न विदेशिने धेरै जना रहेको बताउनुभयो । पुँजीवादले मानिसहरुलाई भ्रष्ट गराएकोहुनाले परम्पराको विकल्प सहित समाज बदल्नुपर्ने बताउनुभयो । यसैगरी इच्छुक सांस्कृतिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष हिरामणी दुःखीले ब्राहमण परिवारको महिलाले ८४ पुजा छोडेर अभिनन्दन गर्न दिनु चानचुने कुरा नभएको बताउनुभयो ।

कम्युनिष्टले मान्छेलाई मान्छे भएर बाँच्न सिकाउने भन्दै दान गर्ने धन सम्पति नहुनेले पनि अभिनन्दन गर्नसक्ने भनाई थियो । यस्तो कार्यक्रम आम मानिसका लागि उपयुक्त हुन्छ । ‘अध्यात्मिक प्रकृयाको ८४ पुजा नगरेर आमालाई सम्मान गर्नुभएको छ,’ उहाँले थप्नुभयो, ‘उहाँको प्रेरणाबाट शिक्षा लिने हो र अगाडि बढ्ने हो ।’

त्यसैगरी सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशिल गौतमले सामाजिक रुपान्तरणको विकल्प दिएको बताउनुभयो । कम्युनिष्टहरु परिवर्तन क्रान्ति भन्ने तर विकल्प नदिएर अलमलिएको छन् । यसरी अफ्ठेरा परम्पराको ठाउँमा सजिला विकल्प दिने हो भने समाज बदलिन्छ । जटिल र जड संस्कृतिलाई रुपान्तरण गर्न सकिन्छ ।

यसलाई सुरुवात मान्नुपर्छ । सात छोरा र एक छोरीका सम्पूर्ण परिवार हुनुहुन्थ्यो । आमाले ११ सन्तान जन्माएको कान्छा छोरा कान्छा छोरा मधुसुदन वैद्यले परिचयका क्रममा सुनाउनुभएको थियोे । आमाको परिचय दिँदै छोरा वैद्यले पञ्चायतकालमा मोहन वैद्यलाई वारेन्ट काट्दा जंगलको ओडारमा लगेर आमाले खाना खुवाएको स्मरण गर्नुभयो । उहाँका अनुसार माओवादी जनयुद्धकालमा वैद्य भूमिगत हुँदा सेना र प्रहरीले पटक-पटक सताउँदा कत्ति पनि अफ्ठेरो मान्नुभएन ।

सबैलाई समान देख्ने आमाको व्यवहारले परिवार सुसंस्कृत बन्यो । आफन्त गेहराज पण्डितले स्वागतयोग्य एवं अनुकरणीय काम भनेर प्रशंसा गर्नुभयो । यो काम कम खर्चमा गर्न सकियो । सामाधामा जुटाउन पनि कठिन परेन ।

उपस्थित आफन्तलाई उपहार नदिनु भनिएको थियो । तर सबैले हातमा पुष्प दिएर प्रणाम गरे । कतिपयले खादा र माला लगाइदिए करीब दुई घण्टाको अवधिमा कार्यक्रम समापन गरियो ।