• जेष्ठ १८ २०८२, शनिबार

उपनिर्वाचनका ३ वटै क्षेत्रमा राप्रपाको जमानत जफत

बैशाख १२ २०८०, मंगलवार

काठमाडौँ । उपनिर्वाचन भएको चितवन-२, बारा २ र तनहुँ-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जमानत जफत भएको छ । हिन्दु राष्ट्र र राजतन्त्र पुनरस्थापना तथा सङ्घीयता खारेजीको मुद्दा उठाउँदै आएको राप्रपाले उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा जमानत समेत जोगाउन सकेन ।

तनहुँ-१ मा रास्वपाका  स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर विजयी हुँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् भने एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएका छन् । राप्रपाकी शोभा गुरुङले भने जम्मा २१८ मत मात्र पाएकी छन् ।

मङ्सिर ४ मा सम्पन्न आम चुनावमा राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ४८ मत पाएका थिए । यसरी आम चुनावमा भन्दा उपचुनावमा तनहुँ-१ मा राप्रपाको २ हजार २३० मत घटेको छ । यस्तै, चितवन-२ मा पनि राप्रपाले आमचुनावको भन्दा ५ सय बढी मत गुमाएको छ ।

चितवन-२ मा रास्वपाका रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएर दोस्रो भए । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् । राप्रपाका जीवलाल पुरीले ३६१ मत मात्र पाएका छन् ।

आमनिर्वाचनमा राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए । यसरी जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुई निर्वाचन क्षेत्रमा आमचुनावको भन्दा उल्लेख्य मत बढाउँदा राप्रपाको भने मत घटेको छ । बारा-२ मा पनि राप्रपाको मत घटेको छ । मङ्गलवार बिहान ११ बजेसम्मको मत गणनाअनुसार बारा-२ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले १३ हजार ८०४ मत पाउँदा जनमतका शिवचन्द्र कुशवाहाले ९२३१ मत ल्याएका छन् ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ४७७ मत र रास्वपाका रमेश खरेलले २ हजार ३१ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ५ सय ८६ मत पाउँदा राप्रपाका उम्मेदवार सोनालालप्रसाद साह तेलीले भने जम्मा ५३ मत पाएका छन् । गत आमचुनावमा पनि राप्रपाकै उम्मेदवार रहेका तेलीले ४६९ मत पाएका थिए ।