• मंसिर ११ २०८१, मंगलवार

पुराना ठूला दलको विकल्पको खोजी

बैशाख १२ २०८०, मंगलवार

चितवन र तनहुँमा उपनिर्वाचनमार्फत् जनताले दिएको म्यान्डेटलाई गम्भीरताका साथ नियाल्ने हो भने अबका दिनमा ठूला र पुराना भनिने दल र तिनका गठबन्धनले जनादेश पाउने अवस्था क्षीण हुँदै गएको छ । जनादेश समाप्त त नभनौ, तर अकल्पनीय रूपमा ठूला दल र तिनका गठबन्धन धराशायी हुँदै गएका भने पक्का हुन् ।

यस बीचमा प्रजातन्त्रवादीका ठूला दल र मोर्चा निर्माणका गफ पनि बजारमा निकै आए । पार्टी सुधार र नेता तथा नेतृत्व परिवर्तनका कुरा पनि निकै उरालिए । तर देखाउनका लागि मात्र !

अबका दिनमा प्रजातन्त्र ठगीखाने भाँडो र जनता मोही माग्ने ढुंग्रोका रूपमा रहेनन् । कुरो धेरै गम्भीरताका साथ अघि बढिसकेको छ । विगतको व्याजखाने दिन पनि सकिइसकेका छन् ।

जनताले वर्तमानमा सुधार र उज्यालो भविष्यको परिकल्पना गर्न थालिसकेका छन् । गफ र आश्वासनले पनि धरती हल्लने दिन गए । माइक घन्काएर आकाशको बादल फाँड्ने दिन पनि सकिए ।

निकै सर्वशक्तिमान र बलियो कम्युनिस्ट पार्टी बनाउने कम्युनिस्टका धाक पनि थाङ्नाभित्र गुटमुटिए । अहिले त हराउलान् झैं पो हुन थाले । कम्युनिष्ट पार्टीका नेताहरूले ओंठे अभियानहरू धेरै सुरू गरे र अन्त्य पनि गरे । तर ती सबै घुमीफिरी रूम्जाटारको यात्रामा समाहित हुन पुगे ।

देश र जनताले खोजेको परिवर्तन हो । त्यो परिवर्तन महापरिवर्तन पक्कै होइन । जसलाई प्रजातन्त्रवादी होऊन् वा वामपन्थी कम्युनिष्ट, उनीहरू सबैले ‘क्रान्ति’ भन्ने गर्छन् । तर सुधारका समेत संकेत देखिएनन् ।

चारैतिर नातापाता, आफ्नै गाथा, सन्तान दरसन्तानको तानावाना, कमिसनको भागबन्डा र बाँडीचुँडीदेखि जनता साच्चिकै वाक्कदिक्क र थुक्क भएछन् । उपनिर्वाचनले अबको ४ वर्षपछि हुने निर्वाचनको झड्कापूर्ण संकेत दिइहाले ।

अबका दिनमा ठूला र इतिहास बोकेका भनिएका दलहरूको भविष्य छ कि छैन ? विना पूर्वाग्रह छलफल चलाउने अवस्था सिर्जना भइसकेको छ । यो भनेको बाटामा ‘… लाई भन्दा देख्नेलाई लाज’ भनेको जस्तो पनि हो ।

नयाँ पार्टी वा दलका नेता र तिनका कार्यकर्ताहरूले जनाले दिएको म्यान्डेट अनुसार काम गर्लान् नगर्लान् त्यो हेर्न बाँकी नै छ । तर पुराना पार्टी र नेताहरूको विकल्पको खोजी भएकोमा भने रत्तिभर आशंका छैन ।

यसको निष्कर्ष यही हुन्छ, ‘जोजससँग सम्बन्धित छ ।’