• मंसिर ९ २०८१, आईतवार

त्रिभुवन विमानस्थलको आकाशमा दुर्घटनाबाट मुस्किलले बच्यो फ्लाई दुबईको विमान

बैशाख ११ २०८०, सोमबार

काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।

त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडीबी ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो ।

पाइलटले जहाजलाई केहीबेर अघि उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ । यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका थिए ।

जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् । यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् ।

‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।